Prakash Adhikari December 10, 2025

कीर्तिपुर(काठमाडौँ), २४ मंसिर । नेपाल प्रिमियर लिग(एनपीएल) सिजन २ अन्तरगत आज भएको इलिमिनेटर खेलमा लुम्बिनी लायन्सले काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गरेको छ ।

बुधबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको काठमान्डु गोर्खाज १९.१ ओभरमा १ सय ११ रनमा अलआउट भयो । जम्मा १ सय १२ रनको लक्ष्य पाएकोले लुम्बिनीले १७.४ ओभरमै ६ विकेटको क्षतिमा सो लक्ष्य पूरा गर्‍यो ।

अब लुम्बिनीले बिहीबार क्वालिफायर २ मा विराटनगर किंग्ससँग खेल्ने छ र विजेता टोलीले सुदूरपश्चिम रोयल्ससँग उपाधिका लागि शनिबार प्रतिस्पर्धा गर्नेछ ।

आजको खेलमा टस हारेर बलिड.को निम्तो पाएको लुम्बिनीले निकै कसिलो बलिड. गर्यो । लुम्बिनीले तेस्रो ओभरमा नै ४ विकेट लियो, जतिखेर काठमाडौंले जम्मा १४ रन जोडेको थियो । लुम्बिनीका शेर मल्ल र कप्तान रोहित पौडेलले ३–३ विकेट लिए । शेरले ४ ओभरमा २२ र रोहितले ४ ओभरमा २५ रन खर्चे । रुबेन ट्रम्पलमनले ३.१ ओभरमा १० रन खर्चेर २ र अभिशेष गौतमले ४ ओभरमा ३३ रन खर्चेर १ विकेट लिए ।

खेलको दोस्रो ओभर तथा आफ्नो पहिलो ओभरको पहिलो बलमै शेरले आकाश त्रिपाठीलाई १ रनमा आउटमा गरेपछि काठमान्डुको लय बिग्रियो । तेस्रो नम्बरमा पठाइएका सन्नी पटेल पनि एक छक्का प्रहार गरे पनि ७ रन बनाई ट्रम्पलमनबाट एलबीडब्लु भए ।

ट्रम्पलमनले बेन चार्ल्सवर्थलाई ४ रनमा कट बिहाइन्ड गरी लुम्बिनीलाई अर्को ठूलो सफलता दिलाए । मिलिन्द कुमारलाई २ रनमा शेरले बोल्ड गरे । भीम सार्कीले १ छक्का प्रहार गरी १६ बलमा १४ रन बनाए । रोहितले एकै ओभरमा भीम र जोहन सिम्पसनलाई आउट गरी खेल पूर्णरुपमा लुम्बिनीको नियन्त्रणमा राखे ।

भीम लेग साइडमा गएको बल एक हाते सट हान्न खोज्दा सर्ट फाइन लेगमा क्याच दिन पुगे । सिम्पसन १७ बल खेली समान १ चौका र छक्का प्रहार गरी १८ रनमा आउट भए । रशिद खानले २ रनमात्र बनाउन सके । त्यसपछि आएका मोहम्मद आदिल अन्सारीले २ छक्का र १ चौका प्रहार गर्दै ११ बलमा १८ रन बनाए । उनलाई पनि शेरले बोल्ड आउट गरे ।

त्यसपछि ब्याट सम्हाल्न आएका कप्तान करण के.सीले पनि १ छक्का प्रहार गर्दै ९ रन मात्र जोडे । सन्तोष यादवले काठमान्डुबाट सर्वाधिक २३ रन बनाए । आउट हुने अन्तिम खेलाडी सन्तोषले १७ बल खेली १ छक्का प्रहार गरे । शाहव आलम ४ रनमा अविजित रहे ।

आजको खेलमा लुम्बिनीले निकै संयमीत ब्याटिङ गर्दै लक्ष्य पूरा गरेको थियो । ओपनिङ ब्याटिङमा ल्याइएका दिनेश अधिकारी ४ रनमै आउट भए पनि उनका ओपनिङ जोडी डी’आरसी शटले सर्वाधिक ३३ रन बनाए । उनले ३४ बल खेली २ छक्का प्रहार गरे । रोहित १८ रनमा आउट भए । उनले २५ बल खेली समान १ चौका र छक्का प्रहार गरे ।

सन्दीप जोराले २३ रन बनाए । उनले पनि समान १ चौका र छक्का प्रहार गरे । निरोशन डिकवेलाले १४ बलमा २ चौकासहित १४ रन जोडे । दिलीप नाथ ७ रनमा आउट भए । ट्रम्प लमनले विजयी चौका प्रहार गर्दै लुम्बिनीलाई जिताए ।

लुम्बिनीलाई रोक्न काठमान्डु गोर्खाजका सन्तोषले २ तथा सन्नी, शाहव, करण र रशिदले १–१ विकेट लिए तर लक्ष्य पूरा गर्नबाट रोक्न सकेनन् ।

आजको इलिमेनेटरमा विजयी बनेको लुम्बिनी लायन्सले पहिलो क्वालिफायरमा पराजित बनेको विराटनगर किंग्स्संग दोस्रो क्वालिफायर खेल्ने छ । दोस्रो क्वालिफायरको विजेताले पहिलो क्वालिफायरको विजेता टिम सुदूरपश्चिमसंग फाइनल खेल्ने छ ।

Share Now