काठमाडौं, १ पुस । नेकपा एमालेको नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । अध्यक्ष पदका लागि १० औं महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रतिस्पर्धामा हुनुहुन्छ। अध्यक्ष पछि शक्तिशाली मानिने महासचिव पदमा ओली पक्षबाट शंकर पोखरेल र ईश्वर पोखरेल पक्षबाट सुरेन्द्र पाण्डेले उम्मेदवारी दिनुभएको छ । मतदान आज अपरान्ह हुने भएको छ । मतदान विद्युतीय मेसिनमार्फत् हुनेछ ।
केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार मतदानमा ८० विद्युतीय मेसिन प्रयोग गरिने जानकारी दिएको छ । मतदानमा एमालेका २ हजार २ सय ६३ प्रतिनिधि मतदानमा सहभागी हुँदैछन् ।
मतदानपछि भृकुटीमण्डपमै मतगणना हुने निर्वाचन आयोगले जनाएको छ । मतपरिणाम घोषणा, प्रमाणपत्र प्रदान र शपथ ग्रहण पनि सोही ठाउँमै हुने एमालेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।
को को भए निर्विरोध निर्वाचित ?
एमालेको अनुशासन आयोग र लेखा आयोगका अध्यक्ष, उपाध्यक्ष र सचिव पदसहित १४ जना निर्विरोध निर्वाचित भइसकेका छन् ।
अनुशासन आयोगको अध्यक्षमा प्रा.डा. भरतराज पहाडी, उपाध्पक्ष चक्रबहादुर पराजुली र सचिव राजेन्द्र घिमिरे निर्विरोध निर्वाचित हुनुभएको छ ।
लेखा आयोगको अध्यक्षमा डा. पुष्पराज कँडेल, उपाध्यक्षमा घनेन्द्रराज घिमिरे र सचिवमा ईश्वरी प्रसाद खरेल निर्विरोध हुनुभएको छ ।
केन्द्रीय सदस्यहरुमा युवा खुलामा नरेश रोकाय, सुशील थापा, मधेशी युवामा अमरकुमार यादव, मुस्लिम महिलामा खाजिदा खातुन सिद्दिकी, श्रमिक महिलामा कमलादेवी तामाङ र सीता लामा निर्वाचित हुनुभएको छ ।
पछडिएको महिलामा बदमी क्वाँरी बुढा (बोहरा) र प्रवास दक्षिण एसियाबाट हरिप्रसाद घिमिरे पनि निर्विरोध निर्वाचित हुनुभएको छ ।
उम्मेदवारको अन्तिम नामावली प्रकाशन
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्वका लागि परेका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ ।
यहाँको भृकुटीमण्डपमा जारी बन्दसत्रस्थलमा पार्टीको केन्द्रीय निर्वाचन आयोगले अन्तिम नामावली प्रकाशन गरेको हो । प्रकाशित नामावलीअनुसार एक अध्यक्ष पदमा अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराउनुभएको छ । अन्य पदाधिकारी तथा सदस्यमा उहाँहरूको समूह र स्वतन्त्र रूपमा पनि उम्मेदवारी परेको छ ।
पार्टीको संशोधित विधानअनुसारा पाँच उपाध्यक्ष पदमा अरुण नेपाल, गुरुप्रसाद बराल, गोकर्णराज विष्ट परशुराम मेघी गुरुङ पुथ्वीसुब्बा गुरुङ, भीमप्रसाद आचार्य, रघुजी पन्त, रामबहादुर थापा ‘बादल’ डा विन्दा पाण्डे र विष्णुप्रसाद पौडेल गरी ११ जनाको उम्मेदवारी परेको छ । एक महासचिवका लागि शङ्कर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डेले उम्मेदवारी दिनुभएको छ ।
यस्तै, तीन उपमहासचिव पदमा आनन्दप्रसाद पोखरेल, योगेश भट्टराई, रघुवीर महासेठ राजेन्द्रप्रसाद गौतम, लेखराज भट्ट र विष्णुप्रसाद रिमालले उम्मेदवारी दर्ता गराउनुभएको छ । यसैगरी नौ सचिव पदमा २० जनाको उम्मेदवारी परेको छ । विभिन्न भूगोल र क्षेत्रमा गरी केन्द्रीय सदस्यमा करिब एक हजारभन्दा बढीको उम्मेदवारी परेको छ ।
मतदान आज दिउँसो १ः०० बजेपछि हुने तालिका छ ।
यस्तो छ उम्मेदवारहरुको सूची
नेकपा एमालेको ३ सय १ सदस्यीय केन्द्रीय समितिमा निर्वाचित हुने आकांक्षासहित उम्मेद्वारी दिनेहरुको सूची यस प्रकार रहेको छ । नामावलीको पूरा सूचीका लागि तल क्लिक गर्नुहोस्ः


















