Prakash Adhikari December 18, 2025

 

काठमाडौं, ३ पौष । साताको अन्तिम कारोबार दिन बिहीबार नेपालको शेयर बजार ओरालो लागेको छ । तीन कारोबार दिन निरन्तर बढेको बजार बिहीबार घटेको हो । तीन कारोबार दिनमा ३० अंक मात्रै बढेको थियो ।

बिहिवार धितोपत्र बजार परिसूचक १०.६६ अंक घटेर २६१५.०३ विन्दुमा झरेको छ ।

यसदिन शेयर बजार परिसूचक ओरालो लागे पनि कारोबार रकम बढेको छ । आज बजारमा २ सय ५९ स्क्रिप्टको १ करोड १२ लाख ९१ हजार ४०१ कित्ता शेयरको किनबेचबाट ४ अर्ब ५७ करोड ७८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार ४ अर्ब ५ करोड ३७ लाख २० हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो ।

यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। बिहिवार स्वस्तिक लघुवित्त वित्तीय संस्था र एसवाई प्यानल नेपालको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन सिन्धु विकास बैंकको शेयरमूल्य ९.५६ प्रतिशतभन्दा बढी बढेको छ । त्यसैगरी, बाराही हाईड्रोपावरको शेयर सवार्धिक ४.७६ प्रतिशतले घटेर कारोबार भएको छ ।

कारोबार रकमका आधारमा यस दिन बाराही हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २४ करोड ७२ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन राधी बिद्युतको कारोबार रकम १८ करोड ३५ लाख रुपैयाँ नाघेको छ भने बुटवल पावरको करिब १६ करोड १० रुपैयाँको शेयर किनबेच भएको छ ।

यस दिन नेपालको शेयर बजारमा वर्गीकरण गरिएका १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ । यस दिन ब्यापार, निर्जीवन इन्स्योरेन्स र होटल उपसमूहको परिसूचक सामान्य बढेको छ । यस दिन वित्त र अन्य उपसमूहको सूचक १ प्रतिशत भन्दा धेरैले घटेको हो ।

Share Now