Prakash Adhikari December 20, 2025
नारायणगढ (चितवन), ५ पुसः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा निर्वाचनको विकल्प नरहेको बताउनुभएको छ । कारागारबाट रिहा भएपछि चितवनको भरतपुरस्थित चौबिसकोठीमा आफ्ना कार्यकर्ता र शुभेच्छुकलाई सम्बोधन गर्दै उहाँले जेनजीले देखाएको सपना पूरा गर्न निर्वाचनको विकल्प नरहेको बताउनुभएको हो । उहाँले नवपुस्ताका मागको सम्बोधन र निर्वाचन सम्पन्न गर्न दृढ रूपमा उभिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सभापति लामिछानेले भन्नुभयो, “निर्वाचनअघि जेनजी आन्दोलनको बलमा बनेको सरकारले उनीहरूका सपना पूरा गर्ने हिम्मत र क्षमता देखाओस् । रास्वपा जेनजीका माग पूरा गर्न र निर्वाचन सम्पन्न गर्ने हकमा सरकारसँग सधैँ खडा हुनेछ ।”
उहाँले  सुशासनका सवालमा सरकार दृढतापूर्वक उभिनुपर्नेमा जोड दिनुभयो । सभापति लामिछानेले भन्नुभयो,“मेरो व्यक्तिगत माग केही छैन । जेनजीले जेका लागि बलिदानी दिएका थिए त्यो पूरा गर्न सरकार अडिग रहोस्, त्यसमा हामी साथ दिन्छौँ । सुशासनका भाइ–बहिनीले बगाएको रगत, तिनका परिवारको सपनाबारे सरकारले कुनै कसर बाँकी नराखोस् ।”
देश जटिल परिस्थितिमा उभिएकाले सबैले संयमित भएर काम गर्नुपर्नेमा जोड दिँदै उहाँले आवेग वा उत्तेजनामा काम गरेर केही हासिल नहुने धारणा राख्नुभयो । सभापति लामिछानेले प्रतिशोधपूर्ण राजनीति आफूबाट नहुने र सधैँ लोकतन्त्रमा विश्वास गर्दै जिम्मेवार भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
Share Now