काठमाडौं, १४ भदौ(रासस) । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशहरूको प्रयास ९बिमस्टेक०को चौथो शिखर सम्मेलनका लागि नेपाल आएका छवटै मुलुकका विशिष्ट पाहुनाहरू राष्ट्रपति विद्यादेवी भण्डारीसँगको संयुक्त भेटवार्ताका लागि राष्ट्रपति भवन शीतल निवास प्रवेश गर्नुभएको छ।
उनीहरूलाई राष्ट्रपतिका सल्लाहकार सुशील प्याकुरेल, राष्ट्रपति कार्यालयका सचिव विनोद केसीलगायतले कार्यालयमा स्वागत गर्नुभयो।
राष्ट्रपति भण्डारीले उहाँहरूको सम्मानमा दिवा भोजको आयोजना गर्नुभएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उच्च पदस्थ अधिकारीहरू सो कार्यक्रममा सहभागी हुनुहुन्छ।
बिमस्टेकमा नेपालसहित सात राष्ट्र सदस्य छन् ।
सम्मेलनमा भाग लिन सदस्य मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुख नेपाल आउनुभएको हो ।
बिमस्टेक शिखर सम्मेलनको आज अपरान्ह ३ बजे काठमाडौंको होटल सोल्टीमा समुद्घाटन हुँदैछ ।
सम्मेलन भोलिसम्म चल्नेछ ।


















