Prakash Adhikari January 2, 2026
गण्डकी, १७ पुसः सन् २०२५ मा अन्नपूर्ण क्षेत्रमा झण्डै तीन लाख विदेशी पर्यटकले भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का प्रमुख रविन कडरियाका अनुसार गत वर्ष कुल दुई लाख ९९ हजार ८३१ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्र आएका छन् ।
उहाँका अनुसार सन् २०२४ मा कूल दुई लाख ४४ हजार ४५ जना विदेशी पर्यटकले यस क्षेत्रको भ्रमण गरेका थिए ।
साथै सन् २०२३ मा एक लाख ९१ हजार ६६६ जना र सन् २०२२ मा यस क्षेत्रमा एक लाख २९ हजार ७१८ जना पर्यटकले भ्रमण गरेका थिए ।
अन्नपूर्ण क्षेत्र अन्नपूर्ण प्रथम हिमालदेखि कास्कीको उत्तरी क्षेत्र, म्याग्दीको उत्तरपूर्वी क्षेत्र, मुस्ताङ, मनाङ र लमजुङ जिल्लाको उत्तरी क्षेत्र गरी कूल सात हजार ६२९ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ ।
विशेष गरी पदयात्रा पर्यटनको गन्तव्य अन्नपूर्ण क्षेत्र पछिल्लो समयमा स्वदेशी एवं विदेशी पर्यटकको आकर्षण बनिरहेको ट्रेकिङ एजेन्सिज एशोसिएन(टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद अचार्यले जानकारी दिनुुभयो ।
सन् २०२५ मा विभिन्न चुनौतीका बाबजुद पर्यटकको आगमन भने उत्साहजनक नै भएको उहाँले बताउनुुभयो । अन्नपूर्ण संरक्षण क्षेत्र आकर्षक र रमणीय हुनुका साथै यहाँको प्राकृतिक सुन्दरता, भौगोलिक बनावट, मानव बस्ती, जैविक र सांस्कृतिक विविधताका कारण पर्यटकहरू लोभिने गरेका छन् ।
तथ्याङ्कअनसार गत वर्ष सबैभन्दा बढी भारतीय पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका छन् भने त्यसपछि क्रमशः बेलायत, फ्रान्स, अमेरिका, जर्मनी, इजरायल, चीन, अष्ट्रेलिया, साउथ कोरिया र मलेसियाका पर्यटक छन् ।
मनास्लु क्षेत्रमा १५ हजार विदेशी पर्यटक
 सन् २०२५ भरि १५ हजार विदेशी पर्यटकले मनास्लु क्षेत्रको अवलोकन भ्रमण गरेका छन् । बेमौसमी बाढीपहिरो, हिमपात र जेनजी आन्दोलनका बाबजुद पनि मनास्लु क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या वृद्धि भएको हो ।
त्यसअघि २०२४ मा मनास्लु क्षेत्र भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या १२ हजार ८०० थियो । मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)ले तयार गरेको अभिलेखअनुसार सन् २०२५ भरि १४ हजार ९८० जना पर्यटक गोरखाको मनास्लु क्षेत्र भित्रिएका छन् । चौध हजार ७३८ विदेशी, सार्क राष्ट्रबाट ३४४ र २४० जना स्वदेशी पर्यटक भित्रिएको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)ले जनाएको छ ।
एमक्याप प्रमुख सन्तोष शेरचनका अनुसार मनासलु क्षेत्र प्रवेश गर्नका लागि १४ हजार ७२१ जनाले अनलाइनमार्फत अनुमति लिएका थिए । यस्तै, १७ जना पर्यटकले एमक्यापको जगत र सामागाउँस्थित चेकपोष्टबाट अनुमति लिएको उहाँले जानकारी दिनुभयो ।
सन् २०२५ मा पर्यटन भित्रिएबापत रु तीन करोड ८५ लाख ८६ हजार संरक्षण क्षेत्र प्रवेश शुल्क सङ्कलन भएको एमक्याप प्रमुख शेरचन बताउनुहुन्छ । जसमध्ये सार्क राष्ट्रका पर्यटकबाट तीन लाख ४४ हजार र नेपाली पर्यटकबाट रु ४८ हजार सङ्कलन भएको छ ।
मनास्लु क्षेत्र प्रवेशका लागि सार्क राष्ट्रका पर्यटकले प्रतिव्यक्ति रु एक हजार र अन्य राष्ट्रका पर्यटकले रु तीन हजार बुझाउनुपर्ने व्यवस्था रहेको उहाँको भनाइ छ । “पर्यटकले काठमाडौँको भृकुटीमण्डप र पोखराको ड्यामसाइटस्थित काउन्टरमा प्रवेश दस्तुर बुझाउनुपर्ने प्रावधान छ”, उहाँले भन्नुभयो, “यी दुवै ठाउँमा प्रवेश दस्तुर शुल्क नबुझाएका पर्यटकले सो क्षेत्र प्रवेश गर्न एमक्यापको जगत र सामागाउँस्थित चेकपोष्टमा दोब्बर दस्तुर तिर्नुपर्ने प्रावधान छ ।” नेपाली पर्यटकको हकमा भने प्रतिव्यक्ति रु एक सय प्रवेश शुल्क तोकिएको उहाँ बताउनुहुन्छ । यसअघि विदेशी पर्यटकको मात्र विवरण सङ्कलन गर्ने गरेको एमक्यापले सन् २०२५ बाट भने नेपाली पर्यटकहरूको विवरणसमेत राख्न सुरु गरेको उहाँले जानकारी दिनुभयो ।
मनास्लु क्षेत्रमा बर्सेनि पर्यटकको सङ्ख्या बढिरहेको छ । एमक्याप प्रमुख सन्तोष शेरचन भन्नुहुन्छ, “स्रोतसाधनको प्रयोग गरेर पर्यटकको राम्रो व्यवस्थापन गर्ने होभने केही वर्षमा मनास्लु क्षेत्र नेपालकै चर्चित पर्यटकीय गन्तव्य बन्न सक्छ ।” मनासलुमा हरेक वर्ष उल्लेखनीय रूपमा पर्यटकको सङ्ख्या बढ्दै गएको उहाँको भनाइ छ ।
एमक्यापको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ मा नौ हजार ७८२ जना, आव २०७९/८० मा सात हजार ७०५ र आव २०७८/७९ मा दुई हजार २८४ जना पर्यटकले मात्र पर्यटकले मनासलु क्षेत्र भ्रमण गरेका थिए । बर्सेनि पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै जानु सुखद भएको एमक्याप प्रमुख शेरचनको भनाइ छ ।
सो क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ज्ञख्या २०७७/७८ मा सबैभन्दा कम अर्थात् जम्मा एक सय ९४ जना, आव २०७६/७७ मा पाँच हजार ३३८ र आव २०७५/७६ मा सात हजार ६५५ जना रहेको थियो ।
Share Now