- निरञ्जन राजवंशी / बीबीसी न्यूज नेपाली
काठमाडौँ, २० पुसः गाउँमा हुँदा चन्द्र दाइको बक्सिङ गाथा सुनेर रमाउँथे।
साहिँला दाइ भूपेन्द्र थापा चर्चित राष्ट्रिय खेलाडी थिए र नेपाल पुलिस क्लबबाट बक्सिङ खेल्थे।
चन्द्रबहादुर थापा सम्झिन्छन्- “दाइले पदक जितेको हल्ला गाँउभरि फैलिन्थ्यो। त्यसबाट मलाई पनि बक्सिङ खेल्ने हुटहुटी बढ्यो”।
रोल्पा परिवर्तन गाउँपालिका थुनिकोटका चन्द्र थापा त्यसपछि बक्सिङ सिक्न दाङ झरे। दाङको एक बक्सिङ ट्रेनिङ सेन्टरमा बसेर प्रशिक्षण थाले।
त्यति बेला उनी १७ वर्षका लक्का जवान भइसकेका थिए। आधारभूत प्रशिक्षण प्राप्त गरेपछि दाइले उनलाई बक्सिङ खेल्न काठमाण्डू बोलाए र नेपाल पुलिस क्लबका खेलाडी उनले भाइलाई आफू सँगै राखे।
काठमाण्डू आएकै वर्ष पूर्वाञ्चलमा सातौँ बृहत् राष्ट्रिय खेलकुद हुँदै थियो। चन्द्रले त्यहाँ भाग लिए र कांस्य पदक जित्न सफल भए।
त्यसपछि चन्द्रले विभिन्न घरेलु प्रतियोगिताहरू जित्न थाले। नेपालगन्जमा सम्पन्न आठौँ राष्ट्रिय खेलकुदमा उनले कांस्य नै जिते। पोखरामा सम्पन्न नवौँ राष्ट्रियमा आएर उनले स्वर्ण पदक जिते।
५४ केजी केजी तौल समूहमा प्रतिस्पर्धा गर्ने चन्द्रलाई त्यसपछि स्वर्ण पदक जित्ने बानी परे झैँ भएको छ।
सन् २०१९ मा ग्रान्डस्लाम एसियन गेम खेल्दै उनले अन्तर्राष्ट्रिय प्रतिस्पर्धा थालेका हुन्। त्यसपछि उनले पेरिस ओलिम्पिक २०२४ मा छनोट हुनाका लागि दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेले। तर ओलिम्पिक सम्मको यात्रा तय गर्न भने असफल रहे।
ऐतिहासिक पदक
काठमाण्डूमा एक दशक अविरल बक्सिङमा सङ्घर्ष गरेपछि अन्ततः चन्द्रले नेपाली बक्सिङमा अहिलेसम्म कुनै खेलाडीले गर्न नसकेको उपलब्धि हात पार्न सफल भएका छन्।
भर्खरै यूएईमा सम्पन्न विश्व पुरुष बक्सिङ च्याम्पिअनशिपमा उनले कांस्य पदक जितेका हुन्। यो उनको मात्र नभई नेपाली बक्सिङकै ऐतिहासिक ठुलो पदक बन्न पुग्यो।
उक्त प्रतियोगितामा चन्द्रले अर्मेनिया, इन्डोनेसिया र त्यसपछि इरानका खेलाडीलाई हराउँदै कांस्य पदक पक्का गरेका हुन्।
प्रतियोगिताको क्वार्टर फाइनलमा इरानका खेलाडी हराएपछि उनको पदक सुनिश्चित हुन्थ्यो।
चन्द्र सम्झन्छन्,- “मलाई त्यो पदकको महत्त्व थाहा थियो। गुरु अनि सहकर्मी साथीहरूले हौसला थपेका थिए। सो खेलभरि नडराईकन मुकाबिला गरेँ। कुनै पनि बेला प्रतिद्वन्द्वीले मलाई उछिन्न सकेनन्। तीन वटै राउन्ड मैले जितेँ।”
विश्व बक्सिङमा पदक जित्ने चन्द्र एक्लो नेपाली मुक्केबाज बनेपछि नयाँ इतिहास उनको नाममा रचिएको छ।
सर्वाधिक राशिको पुरस्कार
पदक मात्रै होइन, उनको चर्चा चुलिनुको अर्को कारण पनि छ।
कांस्य बापत उनले ७५ हजार अमेरिकी डलर अर्थात् अहिलेको भाउमा लगभग १ करोड ८ लाख रुपैयाँ पुरस्कार बापत प्राप्त गरेका छन्, जुन कुनै पनि खेलमा नेपाली खेलाडीले जितेको सर्वाधिक रकमको पुरस्कार हो।
नेपाली खेलकुदमा अहिलेसम्म १ करोड बढीको पुरस्कार कुनै पनि खेलका खेलाडीले जितेको इतिहास छैन।
यसअघि सन् २०२४ को पारा ओलिम्पिकमा पारा तेक्वान्दो खेलाडी पलेसा गोवर्धनले कांस्य तथा उसुका विजय सिंजालीले तेस्रो थाउलो विश्वकपमा कांस्य पदक जितेपछि ६५ लाख रुपैयाँ प्राप्त गरेका थिए। तर त्यो खेलको पुरस्कार नभई नेपाल सरकारले घोषणा गरेको रकम थियो।
यसअघि तेक्वान्दो खेलाडी सँगिना वैद्यलाई नेपाल तेक्वान्दो सङ्घले दिएको २८ लाख बराबरको कार अनि अखिल नेपाल फुटबल सङ्घले वर्षका उत्कृष्ट खेलाडीहरूलाई दिने गाडी र अपार्टमेन्ट ठुलो पुरस्कारको रूपमा रहेको थियो।
पछिल्लो समय नेपाल क्रिकेट सङ्घले नेपाल प्रिमिअर लीग एनपीएलका उत्कृष्ट खेलाडीलाई दिएको कार पनि ठुलो पुरस्कारमा पर्दछ।
दाजुको खुसी
दाजु भूपेन्द्रले नेपालमै भएको गत १३ औँ सागको बक्सिङमा स्वर्ण पदक जितेर २० वर्षको अन्तरालपछि नेपाललाई अन्तर्राष्ट्रिय स्वर्ण दिलाएका थिए।
तर भाइले इतिहास रचेर नेपाल फर्किँदा सबैभन्दा बढी खुसी उनका दाजु भूपेन्द्र थिए।
दाजुको वचन सम्झिँदै चन्द्र भन्छन्, “मैले जित्न नसकेको पदक तिमिले जित्यौ। धेरै खुसी छु भन्नुभयो।”
६ दाजुभाई दिदी बहिनीमा २ दिदी र ४ दाजुभाइमा चन्द्र कान्छा हुन्। उनी अहिले दाजुसँगै प्रहरी क्लबमा बस्छन्। सँगै खेल्दै बक्सिङको यात्रा अगाडि बढाइरहेका छन्।
यति ठुलो रकम कहाँ खर्च गर्ने त ? बक्सिङ खेल्ने बाहेक अरू कुनै चाहना नपालेका चन्द्र भन्छन्,- “आफ्नो खेल निखार्न नै यो रकम खर्चिने छु।”
योजना
चन्द्र अहिले २६ वर्षका भए। राष्ट्रिय खेलकुद परिषद्ले जापानमा हुन गइरहेको एसियाली खेलकुदलाई लक्षित गर्दै राखेको प्रशिक्षण अभियान ‘मिसन २६’ मा उनी बक्सिङबाट छनोट भएका छन्। उनको अबको पहिलो लक्ष्य हो एसियाली खेलकुदमा पदक जित्ने।
त्यसपछि अझ ठुलो लक्ष्य उनले पालेका छन्। भन्छन्, “पहिले एसियन गेम। त्यसपछि ओलिम्पिकमा छनोट हुन मेहनत गर्ने छु।”


















