काठमाडौं, २७ पौष । नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले विशेष महाधिवेशनमा सहभागी बन्न देश र विदेशबाट काठमाडौंमा आउनुभएका प्रतिनिधिहरु र समस्त कांग्रेसजनलाई संबोधन गर्दै पार्टीलाई एकताबद्ध राख्न अपिल गर्नुभएको छ । आज अपरान्ह सामाजिक सञ्जालमार्फत जारी गर्नुभएको भिडियो सन्देश सन्देशमा उहाँले सो अपिल गर्नुभएको हो ।
उहाँको भिडियो सन्देशको पूर्णपाठ यसप्रकार रहेको छः
आदरणीय साथीहरू,
आज देश आसन्न निर्वाचनको सङ्गारमा छ। केही महिना मात्र भएको छ, जनजी आन्दोलनबाट निर्वाचित सरकारको ठाउँमा अनिर्वाचित सुशीला कार्कीको सरकार गठन भएको छ। यस क्रममा संविधान सभाबाट जारी भएको नेपालको संविधान यतिखेर क्षतविक्षत भएको अवस्थामा छ।
आठ दशक अगाडि नेपाली काँग्रेसका संस्थापक नेताहरूले देशको संविधान नेपाली जनताले लेख्छन् भनी नेपालको लोकतान्त्रिक आन्दोलन सुरु गर्नुभएको थियो। यो गौरवशाली इतिहासको श्रृंखलाले अनेकन कष्ट, यातना र बलिदान भोग्दै निरङ्कुश तन्त्रहरूसँग लड्दै लोकतन्त्र र नागरिक सार्वभौमसत्ताको शाश्वत सत्यलाई स्थापित गर्न सफल भयो।यतिखेर हामी लगायत सबै राजनीतिक दलहरू त्यही सार्वभौम संविधान, जो नेपालको मूल कानुन हो, भावी निर्वाचनमार्फत बचाउने प्रयास गरिरहेका छौँ।
के हामी सबै काङ्ग्रेसजन मिलेर सहमति, सहकार्य र सहअस्तित्वलाई एकाकार गर्दै समग्र काङ्ग्रेस एकताको बिगुल फुक्ने महाधिवेशन गरेर जान सक्दैनौँ ?
हामी भाद्र २४ गतेदेखि २७ गतेसम्म घटित अन्योल, अराजकता र संविधानहीनताको त्रासदीपूर्ण अवस्थालाई यति चाँडो कसरी बिर्सिन सक्छौँ र? नेपाली सेनाको सक्रियतामा राजनीतिक निकास खोज्नुपर्ने र देशको आन्तरिक सुरक्षामा सेना उतार्नु पर्ने असहज अवस्था आइपऱ्यो। हाम्रो यस किसिमको अवस्था पुनरावृत्ति नचाहँदा मात्र हामीले हाम्रा शहीदहरूप्रति न्याय गरेको ठहरिन्छ। के हामी भावी पुस्तालाई फेरि लोकतन्त्रको लागि बलिदान, सङ्घर्ष, यातनाको मध्ययुगीन चरणमा पुगेको नेपाल छाडेर जान अभिशप्त छौँ ? हाम्रा आदरणीय नेताहरू, बुद्धिजीवी वर्ग, कानुनवेत्ता, पत्रकार साथीहरू लगायत सबैलाई देशको मूल कानुनको महत्त्व र काङ्ग्रेसका साथीहरूलाई समेत संविधानहीनताको अवस्था बारे मैले भनिरहनु नपर्ला। मभन्दा यहाँहरू धेरै मर्मज्ञ हुनुहुन्छ।
जनजी आन्दोलनबाट उत्पन्न राजनीतिक परिस्थितिमा देशका मूलधारका पार्टीहरूको नेतृत्व बारे नागरिक तहबाट र पार्टीभित्रबाट पनि बहस, छलफल र दबावहरू सुरु हुनु स्वाभाविक थियो, भयो। राजनीतिक दलहरूको विफलताले राजनीतिक नेतृत्वमा प्रश्न उठ्यो र यस प्रकरणमा नेपाली काँग्रेसभित्र संगठित प्रयत्नहरू अगाडि आए। नेपाली काँग्रेसको विधानको विकासक्रममा पार्टीको आन्तरिक जीवनलाई लोकतान्त्रिक बनाउने अनेकन प्रावधानहरू राखिएका छन्।नेपालको संविधान झैयहाँ पनि शक्ति पृथकीकरणको मौलिक सिद्धान्तलाई प्रयोग गरेर ल्याउने कोसिस गरियो। यसको श्रेय निसन्देह पुरानो पुस्ताहरूलाई दिनुपर्छ। यही कारण आज नेपाली काँग्रेसको पदाधिकारीदेखि केन्द्रीय कार्य समितिमा पनि युवाहरूको सहभागिता रह्यो।
म यहाँ स्पष्ट भन्न चाहन्छु, मेरो निजी महत्वकांक्षा केही छैन। मलाई मन्त्री, महामंत्री हुने लोभले विगतमा कहिल्यै आकर्षित गरेन। यस्ता अवसरहरू आए तर मैले रुचि देखाइन। त्यस्तै, सभापति प्रधानमन्त्री हुने कुराले मलाई लोभ्याउँदैन। मैले मेरो परिवारबाट पाएको यही शिक्षा मेरो जीवन दर्शन हो र म यही जीवन दर्शनबाट अभिप्रेरित भएर काङ्ग्रेसको समग्र एकताको पक्षमा शान्त आवाज उठाइरहेको छु र उठाइरहने छु। यस क्रममा मैले एकातिर सभापति शेरबहादुर देउवाको कार्यशैलीसँग लड्नु परेको थियो भने अर्कोतिर ती युवाहरूको असन्तोषको सामना गर्न परिरहेको छ, जो ऊर्जावान र जोसिलो भएर मेरो अगाडि उपस्थित हुन्छन्,तिनीहरुको साथ दिनु थियो ।
काङ्ग्रेसको वैधानिक विकासक्रममा हाम्रा श्रद्धेय नेता बीपी कोइरालाको मेलमिलापवादी भावनाबाट प्रेरित थियो। त्यहाँ सहमति, सहकार्य र सहअस्तित्वको सिद्धान्तलाई मूल मर्म ठानिएको थियो र छ। कसैप्रति विद्वेष र निषेध थिएन। मैले यिनै मर्मलाई आत्मसात् गरेर काङ्ग्रेसभित्र पुस्तान्तरण र हस्तान्तरणको अभियान नै चलाएँ। धेरै युवा साथीहरू मसँग जोडिए। म सधैँ काङ्ग्रेस विधि, विधान र नियमसम्मत प्रक्रियाबाट चलोस् भन्ने संघर्षरत रहेँ। मेरो लड्ने तरिका शान्त र मधुरो थियो। मेरो कैयौ शैलीहरूसँग साथीहरू असहमत भएको म बुझ्थेँ। तर पनि म काङ्ग्रेसको रूपान्तरण अभियानमा आक्रोश र अधैर्य भएर अगाडि बढ्न चाहिनँ। म यहाँ स्पष्ट भन्न चाहन्छु, मेरो निजी महत्वकांक्षा केही छैन। मलाई मन्त्री, महामंत्री हुने लोभले विगतमा कहिल्यै आकर्षित गरेन। यस्ता अवसरहरू आए तर मैले रुचि देखाइन। त्यस्तै, सभापति प्रधानमन्त्री हुने कुराले मलाई लोभ्याउँदैन। मैले मेरो परिवारबाट पाएको यही शिक्षा मेरो जीवन दर्शन हो र म यही जीवन दर्शनबाट अभिप्रेरित भएर काङ्ग्रेसको समग्र एकताको पक्षमा शान्त आवाज उठाइरहेको छु र उठाइरहने छु। यस क्रममा मैले एकातिर सभापति शेरबहादुर देउवाको कार्यशैलीसँग लड्नु परेको थियो भने अर्कोतिर ती युवाहरूको असन्तोषको सामना गर्न परिरहेको छ, जो ऊर्जावान र जोसिलो भएर मेरो अगाडि उपस्थित हुन्छन्।
मलाई थाहा छ, काङ्ग्रेस विधानमा के छ र के हुनुपर्छ। मैले काङ्ग्रेस विशेष महाधिवेशनको अभियान चलिरहँदा आफ्नो मत केन्द्रीय कार्य समितिमा लिखित रूपमै राखेको छु। मैले यो राखिरहँदा काङ्ग्रेसमा कुनै कतै कुनाबाट पनि विभाजनको प्राविधिक र भावनात्मक सन्देश प्रवाह नहोस् भनी सतर्क थिएँ। मलाई यो पनि थाहा छ, काङ्ग्रेस संक्रमणमा पर्दा कसरी र कसले त्याग र अपमान सहनु पर्छ भनेर। म ती सबै सहेर पनि अन्तिमसम्म पार्टी विधानबाट मात्र होइन, काङ्ग्रेसजनको भावनात्मक एकतामा अगाडि बढिरहने छु। बीपीको मेलमिलाप कुनै कानुनको पन्नाबाट निस्केको थिएन, न काङ्ग्रेसको विधान र नेपालको संविधानमा थियो। यो बीपीको अन्तरात्माको आवाज थियो। यो नेपालीजनको आवाज थियो। म एक्लो भए पनि बीपी, सुवर्ण, गणेशमान, किशुनजी, गिरिजाबाबु, सुशील दा लगायत हाम्रा अग्रज नेताहरूले छाडेको पद चिन्हबाट विचलित हुने छैन। यो पद चिन्ह भनेको काङ्ग्रेसको मौलिक आदर्श सिद्धान्त हो, जसमा टेकेर नेपालीहरू सार्वभौम भए, स्वतन्त्र भए। के हामी सबै काङ्ग्रेसजन मिलेर सहमति, सहकार्य र सहअस्तित्वलाई एकाकार गर्दै समग्र काङ्ग्रेस एकताको बिगुल फुक्ने महाधिवेशन गरेर जान सक्दैनौँ ? के हामीसँग भरोसा र विश्वास गर्ने हाम्रा समर्थक शुभचिन्तक साथीहरू र अन्तर्राष्ट्रिय समुदायको पनि हामी एकताबद्ध भएर अगाडि बढेको हेर्न नचाहेका होलान् र ? सोचौँ हामी।
बीपीको मेलमिलाप कुनै कानुनको पन्नाबाट निस्केको थिएन, न काङ्ग्रेसको विधान र नेपालको संविधानमा थियो। यो बीपीको अन्तरात्माको आवाज थियो। यो नेपालीजनको आवाज थियो। म एक्लो भए पनि बीपी, सुवर्ण, गणेशमान, किशुनजी, गिरिजाबाबु, सुशील दा लगायत हाम्रा अग्रज नेताहरूले छाडेको पद चिन्हबाट विचलित हुने छैन। यो पद चिन्ह भनेको काङ्ग्रेसको मौलिक आदर्श सिद्धान्त हो, जसमा टेकेर नेपालीहरू सार्वभौम भए, स्वतन्त्र भए।
आदरणीय महाधिवेशन प्रतिनिधि साथीहरू,
तपाईंहरू पार्टीको धरोहर हुनुहुन्छ। तपाईंहरू विधिको प्रभावकारिता र नीतिको सान्दर्भिकता स्थापित गर्ने पवित्र उद्देश्यका साथ काठमाडौँ आउनुभएको छ। पार्टीको विधानको कार्यान्वयन गर्ने संकल्प गर्दै हुनुहुन्छ। त्यस विषयमा समग्र काङ्ग्रेसको हित र एकताबद्ध पार्टी कसरी निर्माण गर्न सकिन्छ भन्ने ऐतिहासिक दायित्व निर्वाह गर्न समेत त्यति नै सक्षम हुनुहुन्छ भन्ने मेरो गहिरो विश्वास छ। यो कार्यका लागि मैले केही दिनदेखि भगीरथ प्रयास गरिरहेको छु। जबसम्म निकास निस्किँदैन तबसम्म म निरन्तर लागिरहने छु भन्ने प्रण पनि गर्दछु। मेरो दृढ़ विश्वास छ, एकताबद्ध भएर अगाडि बढ्न सकिन्छ र यो जय नेपालको नाराको गुञ्जनबाट मात्र सम्भव छ भन्ने मलाई लाग्छ। जय नेपाल ।


















