Prakash Adhikari January 15, 2026
काठमाडौं, १ माघ । सनातनी हिन्दुहरुले मनाउने मकर संक्रान्ति तथा मगर र थारु समुदायले हर्षोल्लासपूर्वक मनाउने माघी पर्वको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले देश विदेशमा रहनुभएका नेपालीहरुमा शुभकामना व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति जस्ता पर्वले सम्पूर्ण नेपालीबीच बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुताको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै उहाँले यस्तो विश्वास व्यक्त गर्नुभएको हो ।
राष्ट्रपति पौडेलले भन्नुभएको छ, “माघे सङ्क्रान्ति जस्ता पर्वले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा जातीय सद्भाव, विविधताको सम्मान र राष्ट्रिय एकता प्रवर्द्धनमा योगदान पु¥याउनाका साथै सम्पूर्ण नेपालीबीच बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुताको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास लिएको छु ।”
माघे सङ्क्रान्ति वा मकर सङ्क्रान्ति पर्वलाई नेपालका विभिन्न जातजातिले आ–आफ्नै ढङ्गले हर्षोल्लासपूर्वक मनाउने गर्दछन् । विशेष गरी थारू समुदायले माघी पर्वलाई नयाँ वर्षका रूपमा मनाउँछन् । यस्तै घ्यू, चाकु, तरुल, तिलको लड्डु, सेलरोटी, ढिक्री र  खिचडीजस्ता परिकारहरू खाई परिवारसँग रमाइलो गर्ने प्रचलन रहिआएको छ ।
राष्ट्रपति पौडेलले आजको दिन बराहक्षेत्र, देवघाट, रिडीक्षेत्रलगायत देशका विभिन्न पवित्र नदी एवम् त्रिवेणीहरूमा स्नान गरी मन्दिरमा पूजाअर्चना गर्ने परम्परा रहिआएको पनि उल्लेख गर्नुुभएको छ । विशिष्ट मौलिक सांस्कृतिक सम्पदाका रूपमा रहेका यस्ता पर्वहरूले हाम्रो मुलुकलाई विश्वसामु परिचित गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको उहाँको भनाइ छ ।
शुभकामना सन्देशमा भनिएको छ, “माघे सङ्क्रान्ति एवम् माघी पर्वबाट संस्कृतिको संरक्षण गर्दै सभ्य‚ सुसंस्कृत र समतामूलक  समाजको निर्माण गर्न हामी सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।”
जैविक स्रोतको संरक्षणमा आमनागरिक सचेत हुनुपर्छः उपराष्ट्रपति
 उपराष्ट्रपति रामसहायप्रसाद यादवले जैविक स्रोतको संरक्षण र दिगो उपयोगमा जोड दिनुभएको छ । माघी पर्व (माघे सङ्क्रान्ति), २०८२ का अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले स्रोतको संरक्षण र दिगो उपयोगमा आमनागरिक र सरोकार भएका सबै सचेत हुनुपर्ने उल्लेख गर्नुभएको  हो ।
उपराष्ट्रपति यादवले भन्नुभएको छ, “नेपालमा माघी पर्वको दिनलाई राष्ट्रिय कृषि जैविक विविधता दिवसका रूपमा पनि मनाइन्छ । तीनै तहका सरकारलाई संरक्षणको जिम्मेवारी दिइएको छ, नेपाल अन्तरराष्ट्रिय महासन्धिहरूको पक्ष राष्ट्र भएकाले जैविक विविधता संरक्षणको महत्व अझ बढेको छ । यस विषयमा आमनागरिक र सरोकार भएका सबै सचेत भई संरक्षण र दिगो उपयोगमा जोड दिनु आजको आवश्यकता हो ।”
संविधानले जैविक स्रोतको संरक्षण र दिगो उपयोगलाई राज्यको नीतिमा समेटेको पनि उहाँले उल्लेख गर्नुभएको छ ।
विभिन्न नामले मनाइने चाडपर्वको साझा सन्देश राष्ट्रियता, भाइचारा, मेलमिलाप, मैत्रीभाव र अपनत्वलाई बलियो बनाउनु रहेको भन्दै उपराष्ट्रपति यादवले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाभिमानलाई अक्षुण्ण राख्दै जनताको अधिकार, स्वशासन र समृद्धिको मार्गमा अघि बढ्न प्रेरणा दिने विश्वास पनि व्यक्त गर्नुभएको छ ।
नेपालमा प्रत्येक वर्ष माघ १ गते विभिन्न भूगोल, समुदाय र संस्कृतिअनुसार यो पर्वलाई आ–आफ्नै मौलिक नामले उल्लासपूर्वक मनाउने परम्परा रहिआएको छ । थारू समुदायले यसलाई नयाँ वर्षको प्रारम्भका रूपमा ‘माघी’ भनी मनाउँछन् भने मगर समुदायले मौलिक नयाँ वर्षका रूपमा मनाउने चलन छ । मधेसी समाजमा ‘तिला सङ्क्रान्ति’, किरात समुदायमा राजा यलम्बरको स्मरणार्थ ‘येले संवत्’, छन्त्याल समुदायमा ‘छार म्हेङ’ नामले मनाइन्छ । नाम फरक भए पनि यसको मूल भाव भने विविधतामा एकता र सांस्कृतिक गौरवलाई उजागर गर्नु हो ।
उपराष्ट्रपति यादवले भन्नुभएको छ, “हिन्दू धर्मावलम्बीहरूले यस दिनलाई पुण्यतिथि मानेर सूर्यदेव र भगवान् विष्णुको आराधना गर्छन् ।  सूर्यदेवको उत्तरायण यात्रा प्रारम्भ हुने दिन भएकाले पवित्र नदीमा स्नान, दान र धार्मिक अनुष्ठान गर्ने परम्परा छ, यसरी मनाइने पर्वले विभिन्न जातजातिका परम्परा र संस्कृतिलाई जीवित राख्दै सामाजिक सद्भाव र धार्मिक आस्थालाई बलियो बनाउँदछ ।”
यस दिन दान–पुण्य गर्ने परम्पराले समाजमा सहयोग, करुणा र सहअस्तित्वको भावना जागृत गर्ने र विपन्न तथा असहायलाई सहयोग गर्ने संस्कारले सामाजिक उत्तरदायित्वलाई बलियो बनाउने उहाँको भनाइ छ ।
Share Now