काठमाडौं, ३ माघ। आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्ने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीलाई आज राजधानीमा बिदाई गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले शनिवार विशेष कार्यक्रम गरी आईसीसी टी–२० विश्वकप खेल्ने टोलीलाई बिदाई गरेको हो ।
आगामी फेब्रुअरी–मार्चमा श्रीलंका र भारतमा हुने विश्वकपमा सहभागी हुनु अघि नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेल खेल्नेछ । सोही क्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले राष्ट्रिय टोलीमा भएको एकरुपता र एकताले नेपाललाई अर्को खुसी दिलाउने कुरामा विश्वस्त रहेको बताउनुभयो।
उहाँले भन्नुभयो, ‘एकदम शान्त भएर खेल खेल्नु होला, सबैले आफ्नो खेल र प्रदर्शनमा ध्यान दिनुु होला, कहिले काही सानो सानो कुराले हामी पछाडी पर्ने गरेका छौ । तपाईहरुमा भएको एकरुपता र एकताले नेपाललाई अर्को खुसी दिलाउने छ भन्ने कुरामा म विश्वस्त छु ।’
यस्तै, क्यानका सचिव पारस खड्काले पनि विश्व क्रिकेटले खेल हेर्ने भएको हुदाँ खेलाडीको हरेक पक्षले धेरै मान्यता राख्ने भन्दै राम्रो प्रदर्शन गर्नको लागि शुभकामना दिनुभएको छ ।
उहाँले भन्नुभयो, ‘पुरुष नेपाली क्रिकेट टोलीको परिणाम सबैभन्दा बढि आकर्षित हुने गरेको छ र त्यो परिणामले नै धेरै कुराहरु निर्धारित गर्ने हुने हुनाले अहिले खेलाडीहरुमाथि जति जिम्मेवारी छ त्यो एउटा खेलाडीको मात्र नभएर विश्व क्रिकेटले नै तपाईहरुलाई हेर्ने हो । खेलमा तपाईहरुको हरेक पक्षले धेरै मान्यता राख्ने छ । खेलको लागि सबैलाई शुभकामना दिन चहान्छु किनभने खेल त्यति सजिलो छैन् ।’
साथै, राष्ट्रिय टोलीका कप्टान रोहित पौडेलले खेलको लागि एकदमै उत्साहित रहेको भन्दै आफ्नो क्षमता अनुसार राम्रो खेल्ने बताउनुभयो। टोली भोलि भारत प्रस्थान गर्दैछन् ।
नेपालले जनवरी १९, २१ र २३ मा अभ्यास गर्नेछ भने २०, २२ र २४ मा श्रीलंकााँको टिम ए संग वार्मअप अभ्यास खेल खेल्नेछ ।
त्यस्तै नेपाली राष्ट्रिय टिमले जनवरी २७ र २८ मा भारतको मुम्बईमा अभ्यास गर्नेछ र २९ र ३० जनवरीमा त्यहाँको मुम्बई क्रिकेट एकेडेमी ११ संग वार्मअप अभ्यास खेल खेल्ने छ ।
भारतमा खेलिने एउटा अभ्यास खेल दिनमा हुने छ भने अर्को दिन र रात दुवैलाई समेट्ने गरी खेलिने छ ।
नेपालले भारतको मुम्बईमा आफ्नो समूह चरणका सबै खेल खेल्नेछ। नेपाल समूह सीमा इङ्ल्याण्ड, वेस्ट इन्डिज, बंगलादेश, इटालीसँग रहेको छ। नेपालले माघ २५ इङ्ल्यान्डसँग खेल्दै विश्व कपको सुरुवात गर्नेछ।






















