Prakash Adhikari January 17, 2026

 

काठमाडौं, ३ माघ । निर्वाचन आयोगबाट आधिकारिकताको मान्यता पाएको गगनकुमार थापा नेतृत्वको नवनिर्वाचित नेपाली कांग्रेसले संसदीय बोर्ड गठन गरेको छ ।

फागुन २१ गतेको निर्वाचनलाई टिकट बाड्न र समानुपातिक प्रणालीको निर्वाचनको सूचीमा संशोधन गर्न नवनिर्वाचित कांग्रेसले १३ सदस्यीय बोर्ड गठन गरेको हो ।

बोर्डमा सभापति गगनकुमार थापाको नेतृत्वमा उपसभापति, महामन्त्री र सहमहामन्त्रीलगायत सदस्य रहने गरी बोर्ड गठन गरिएको हो ।

 

बोर्डमा सभापति गगनकुमार थापाको नेतृत्वमा उपसभापति, महामन्त्री र सहमहामन्त्रीलगायत सदस्य रहने गरी बोर्ड गठन गरिएको हो ।

केन्द्रीय समिति बैठकले ६ निर्णय

गगन थापाको सभापतित्वमा बसेको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले ६ वटा निर्णय गरेको छ।

शनिबार सभापति थापाको सभापतित्वमा बसेको बैठकले ६ निर्णय गरेको हो। बैठकले निर्वाचन आयोगको पछिल्लो निर्णयलाई स्वागत गर्दै पार्टी एकता, आगामी निर्वाचन र पूर्वसभापति शेरबहादुर देउवाको भूमिकालगायत विषयमा निर्णय गरेको छ।

प्रवक्ता देवराज चालिसेका अनुसार बैठकले निर्वाचन आयोगको निर्णयलाई कसैको हारजित नभई विधि र लोकतन्त्रको विजयको रूपमा व्याख्या गरेको छ।

बैठकले देउवाले लामो समयदेखि पार्टी नेतृत्वमा रहेर पुर्‍याएको योगदानप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अभिभावकीय भूमिका प्राप्त हुने विश्वाससमेत व्यक्त गरेको चालिसेले बताउनुभएको छ

कांग्रेसले अब उप्रान्त कुनै पनि अप्राकृतिक गठबन्धन वा सत्ताकेन्द्रित सम्झौता नगर्ने प्रतिबद्धता दोहोर्‍याएको छ। बैठकले मूल्य र मान्यतामा अडिग रहँदै संविधानको रक्षा र नवयुवाको आकांक्षालाई सम्बोधन गर्ने निर्णय गरेको छ।

बैठकले फागुन २१ गते हुने निर्वाचनमा नवीन ऊर्जा र पूर्ण एकताका साथ सहभागी हुन सबै तहका समिति र भ्रातृ संस्थाहरूलाई आह्वान गरेको छ। यसलाई ‘रूपान्तरण, एकता र विजयको नयाँ अध्याय’ भन्दै विभिन्न कारणले पार्टीबाट निष्क्रिय रहेका वा पार्टी छाडेका सबैलाई पुनः जोडिन आग्रह गरिएको छ।

आयोगले शुक्रबार दोस्रो विशेष महाधिवेशनका निर्णयलाई वैधानिकता दिएपछि बसेको यो बैठकले परिवर्तनमा साथ दिने सबैप्रति आभार व्यक्त गरेको प्रवक्ता चालिसेले जानकारी जानकारी दिनुभएको छ  ।

यस्ता छन्,  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको २०८२ माघ ३ गते नयाँ बानेश्वरमा बसेको बैठकले गरेका निर्णयहरू:-

१. निर्वाचन आयोगले नेपाली काग्रेसको दोश्रो विशेष महाधिवेशनका निर्णयहरूलाई संविधान, कानून र पार्टी विधानअनुसार मान्यता दिई अद्यावधिक गरिसकेको छ। यो कसैको जित-हार होइन, यो विधान र लोकतन्त्रको विजय हो। यस ऐतिहासिक परिवर्तनमा साथ दिने हरेक सदस्य, शुभेच्छुक र सहयोगीप्रति हृदयदेखि केन्द्रिय समितिको यो वैठक हार्दिक आभार व्यक्त गर्दछ।

२. यो समय एकता, सद्भाव र सहकार्यको समय हो। देश-विदेशमा रहेका सवै कांग्रेसजन, सवै तहका समितिहरू र सबै भातृ तथा सूभेच्छुक सस्थाका साथिहरूलाई नवीन ऊर्जा, अटुट विश्वास र पूर्ण एकताका साथ फागुन २१ को निर्वाचनमा शसक्त रूपमा सहभागि हुन हार्दिक आह्वान गरिन्छ।

३. विभिन्न कारणले पार्टीवाट निष्कृय रहनु भएका, विभिन्न कारणले पार्टी छाड्नु भएका सवै साथिहरूलाई पार्टीमा पुन : जोडिन यो वैठक हार्दिकतापूर्वक आह्वान गर्दछ।

४. यतिवेला हामी निवर्तमान सभापति शेरबहादुर देउवा लगायतका नेताहरूले नेपाली काग्रेसको नेतृत्वमा रहि लामो समयदेखि पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै हार्दिक धन्यवाद प्रकट गर्दछ। यो वैठक श्रद्देय नेताको अभिभावकीय भूमिका प्राप्त हुने विश्वास राख्दछ।

५. नेपाली कांग्रेस आम नेपाली नागरिकप्रति आफ्नो अटल प्रतिबद्धता पून दोहर्याउन चाहन्छ, अब कुनै अप्राकृतिक गठबन्धन वा सत्ताकेन्द्रित सम्झौता हुनेछैन। हामी सदैव मूल्य र सिद्धान्तमा अडिग रहने छौ। संविधानको रक्षा गर्दै समृद्ध नेपालको नेतृत्व गर्ने छौ। नवयुवाको आकांक्षा र जनताको अपेक्षालाई साकार पार्ने छौं।

६. यो नयाँ अध्याय हो- रुपान्तरणको, एकताको, विजयको। सवैमा अनुरोध छ, समुन्नत नेपाल निर्माणको महाअभियानमा जोडिनुहोस्। थप स्नेह, विश्वास र साथ दिन सवैमा अनुरोध छ।

जय नेपाल
देवराज चालिसे
प्रवक्ता
नेपाली कांग्रेस

Share Now