Prakash Adhikari January 17, 2026

सानेपा(ललितपुर),३ माघ। नेपाली कांग्रेसको चौधौ महाधिवेशनबाट शेरबहादुर देउवाको नेतृत्वमा निर्वाचित कार्यसमितिले पार्टीको आधिकारिकताको लागि सर्वोच्च अदालत जाने निर्णय गरेको छ ।

आज बिहानदेखि बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले सो निर्णय गरेको हो ।

आज बसेको बैठकले आधिकारिकताबारे निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने निर्णय गरेको प्रवक्ता नेता प्रकाशशरण महतले जानकारी दिनुभयो।

‘कानूनी उपचार र राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेका छौं’, नेता महतले भन्नुभयो, ‘ हामी भोलि (आइतबार)सर्वोच्च जान्छौं ।’

नेता महतले निर्वाचन आयोगले आफूहरुलाई बोलाउँदा पनि नबोलाएर कुनै औपचारिकतासमेत पूरा नगरेर विशेष महाधिवेशन पक्षलाई आधिकारिकता दिएको आरोप लगाउनुभयो। ‘नजिर, विधान, निर्वाचनसम्बन्धी व्यवस्था कुनै पनि पालना नगरेको हाम्रो ठहर छ’, उहाँले थप्नुभयो, ‘अन्यायपूर्ण निर्णय भएकोले सर्वोच्च अदालतमा केस प्रस्तुत गर्छौं ।

उहाँले निर्वाचन आयोगले निर्णय गर्दैमा आधिकारिक नहुने भन्दै अदालत जान लागेको बताउनुभयो । यसका लागि राजनीतिक प्रतिवादको पनि तयारी गरेको उहाँले बताउनुभयो ।

शुक्रबार मात्रै निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित भएका गगन थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन प्रयोजनको लागि आधाकारिक मान्यता दिएको छ । आधिकारिक मान्यता पाएसँगै गगन थापाहरुले पार्टी गतिविधि सुरु गरिसकेका छन् ।

आज बिहान ११ बजेदेखि विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिको बैठक बानेश्वरको अर्पण ब्यांक्वेटमा बसिरहेको छ ।

Share Now