- ड्यानिअल बुश, वाशिङ्टन संवाददाता, पलिन कोला
वाशिङ्टन(संयुक्त राज्य अमेरिका), ३ माघ(बीबीसी) । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ग्रीनल्यान्ड गाभ्ने आफ्नो उद्देश्यसँग नमिल्ने देशहरूमाथि कर लगाउने धम्की दिनुभएको छ ।
ह्वाइट हाउस बैठकमा ट्रम्पले ग्रीनल्यान्डबारे आफ्नो उद्देश्यमा मत नमिलाउने देशहरूमाथि कर लाग्नसक्ने बताउनुभएको हो । ग्रीनल्यान्ड नेटो सदस्य डेन्मार्कको अर्धस्वायत्त क्षेत्र हो।
उहाँले कुनकुन देशमाथि नयाँ कर लाग्न सक्छ भनेर केही भन्नुभएन, वा आफ्नो लक्ष्य पछ्याउन यस्तो करहरू लगाउन कुन अधिकार प्रयोग गर्नेछन् भनेर पनि उहाँले बताउनुभएको छैन ।
डेनमार्क र ग्रील्यान्डसँगै उहाँको योजनाको अन्य देशहरूले पनि विरोध गरेका छन्। अमेरिकाभित्रै पनि उक्त भूभाग अधिग्रहण गर्ने विषयमा कतिपयले निन्दा गरेका छन्। ट्र्म्पले आफ्नो योजना बताइरहँदा संसद्को एउटा प्रतिनिधि टोली उक्त क्षेत्रप्रति समर्थन देखाउन ग्रीनल्यान्ड पुगेको थियो।
११ सदस्यीय उक्त समूहमा रिपब्लिकनहरू पनि रहेका थिए जसले ट्रम्पले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै ग्रीनल्यान्ड लिने विषयमा राखेको धारणाबारे चिन्ता व्यक्त गरेका छन्। उनीहरूले सांसदहरूका साथै डेनमार्क र ग्रीनल्यान्डका प्रधानमन्त्रीहरूलाई पनि भेटेका थिए।
उक्त समूहका नेता तथा एक जना डेमोक्र्याट क्रिश कून्सले भ्रमण त्यहाँका स्थानीय मानिसहरूलाई सुन्न र माहौल ठन्डा बनाउन उनीहरूको धारणा वाशिङ्टन पुर्याउन चाहेको बताउनुभएको छ।
ग्रीनल्यान्डकी एक सांसद अजा खेम्नित्सले अमेरिकी सांसदहरूसँगको भेटले आफूलाई आशावादी बनाएको बताउनुभएको छ ।
हामीलाई साथीहरू चाहिएको छ। हामीलाई सहयोगीहरू चाहिन्छ, बीबीसीसँग बोल्दै उहाँले भन्नुभयो ।
ट्रम्पको तर्क के हो?
ट्रम्पले अमेरिकाको सुरक्षाका लागि ग्रीनल्यान्ड महत्त्वपूर्ण भएको भन्दै वाशिङ्टनले यसलाई सहज बाटो वा कठिन बाटो अपनाउँदै किन्ने वा बल प्रयोग गरेर लिने बताउनुभएको छ ।
“ग्रीनल्यान्ड अमेरिकी सुरक्षाका लागि हामी चाहिएको हो र यसमा साथ नदिनेलाई मैले कर लगाउन सक्छु”, शुक्रवार ह्वाइट हाउसमा भएको बैठकमा ट्रम्पले भन्नुभयो ।
ग्रीनल्यान्डको जनसङ्ख्या एकदमै थोरै छ र यो उत्तर अमेरिका र आर्कटिकको बीचमा पर्छ र यो क्षेप्यास्त्र हमलाको अवस्थामा पूर्व चेतावनी प्रणालीको लागि र पानीजहाजको निगरानीका लागि राम्रो स्थान हो।
अमेरिकाले यसअघि नै त्यहाँको उत्तर पश्चिम छेउमा पर्ने पिटुफ्फिक क्षेत्रमा १०० भन्दा बढी सैनिकहरूलाई स्थायी रूपमा राखेको छ। उक्त क्षेत्र क्षेप्यास्त्र अनुगमन केन्द्रका रूपमा रहेको छ र त्यो दोस्रो विश्वयुद्धयता सञ्चालनमा आएको हो।
डेनमार्कसँगको विद्यमान सम्झौता अनुसार अमेरिकाले उसले चाहे जति सैनिकहरू त्यहाँ लैजान सक्ने अधिकार राख्छ।
तर ट्रम्पले रुस वा चीनको सम्भावित आक्रमणविरुद्ध आफ्नो प्रतिरक्षा गर्न अमेरिकाले आफ्नो स्वामित्वमा लिनुपर्ने बताउँदै आउनुभएको छ ।
डेनमार्कले सैन्य कारबाहीले उत्तर एट्लान्टिक सन्धि सङ्गठनको अन्त्य हुने चेतावनी दिएको छ। नेटोमा सबैभन्दा प्रभावशाली साझेदार भनेको अमेरिका नै हो।
नेटोले बाहिरबाट हुने आक्रमणमा साझेदारहरूले एक अर्कालाई सहयोग गर्नुपर्ने उसको सिद्धान्त रहेको छ। नेटोले कहिल्यै पनि आफ्नो कुनै एक सदस्यविरुद्ध अर्कोले बल प्रयोग गर्ने अवस्थाको सामना गरेको छैन।
युरोपेली साझेदारहरूले डेनमार्कको समर्थनमा आफ्नो मत दिएका छन्।
उनीहरूले आर्कटिक क्षेत्र आफ्ना लागि उत्तिकै महत्त्वपूर्ण रहेको र त्यसको सुरक्षा अमेरिकासहित नेटोको संयुक्त जिम्मेवारी हुनुपर्ने बताएका छन्।
फ्रान्स, जर्मनी, स्विडेन, नर्वे, फिनल्यान्ड, नेदरल्यान्डस् र यूकले आफ्ना सैनिकको सानो समूह ग्रीनल्यान्ड पठाएका छन्।
फ्रान्सका राष्ट्रपति एम्यानुअल माक्रोँले चाँडै नै जमिन, हवाई , र समुद्री शक्ति त्यहाँ पठाउने बताउनुभएको छ ।



















