पोखरा(कास्की), १२ माघ । छैटौं टाइगर कप भलिबल च्याम्पियनसिप अन्तरगत आज भएको पुरुषतर्फको प्रतियोगितामा गण्डकी प्रदेश टिमले त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकालेको छ ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपको चौथो दिन आजको तेस्रो तथा अन्तिम खेलमा गण्डकीले आर्मीलाई ३-१ को सेटले हराएको हो।
प्रतिष्पर्धात्मक पहिलो र तेस्रो सेट गण्डकीले समान ३३-३१ ले आफ्नो पक्षमा पार्दा दोस्रो सेटमा आर्मीले २५-१५ ले जित्यो । चौथो सेटमा गण्डकीले २५-१९ ले जित निकाल्दै नतिजा आफ्नो पक्षमा पार्यो।
च्याम्पियनसिपमा गण्डकीको दोस्रो जित हो । पहिलो खेलमा एपीएफसँग पराजित गण्डकीले दोस्रो खेलमा माल्दिभ्स भलिबल एसोसियसनलाई पराजित गरेको थियो ।
आर्मीले भने लगातार दोस्रो हार बेहोरेको छ । पहिलो खेलमा माल्दिभ्सलाई हराएको आर्मी दोस्रो खेलमा नेपाल पुलिस क्लबसँग पराजित भएको थियो ।
मालदिभ्स्माथि एपीएफको सहज जित
आजै भएको पुरुषतर्फको अर्को खेलमा एपीएफ क्लबले माल्दिभ्समाथि सहज जित निकालेको छ ।
दिनको दोस्रो खेलमा एपीएफले माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गरेको हो । एपीएफ २५–२०, २५–१८ , २५–२० ले विजयी भएको थियो ।
च्याम्पियनसिपमा एपीएफले दोस्रो जित निकाल्दा माल्दिभ्सले भने लगातार तेस्रो हार बेहोरेको छ ।
महिलातर्फ एपीएफसंग आर्मी पराजित
आर्मी च्याम्पियनसिपमा महिलातर्फ तेस्रो हार बेहोर्दै उपाधि दौडबाट बाहिरिएको छ ।
आफ्नो तेस्रो खेलमा आर्मी एपीएफसँग ३-० को सोझो सेटमा पराजित भयो । आर्मी पहिलो खेलमा न्यु डायमण्ड युथ स्पोर्टस क्लब र दोस्रो खेलमा नेपाल पुलिस क्लबसँग पराजित भएको थियो ।
अब आर्मीले अन्तिम खेल भोलि थाइल्याण्ड क्विन्ससँग खेल्नेछ छ ।
आजै भएको खेलमा एपीएफले २५-११, २५-१८ र २५-१९ ले आफ्नो पक्षमा पार्दै दोस्रो जित दर्ता गर्यो । पहिलो खेलमा थाइल्याण्ड क्विन्सलाई पाँचौं सेटमा हराएको एपीएफ दोस्रो खेलमा न्यु डायमण्डसँग पराजित भएको थियो ।
च्याम्पियनसिपअन्तर्गत भोलि मंगलबार ४ खेल हुनेछन् । पहिलो खेल महिलातर्फ आर्मी र थाइल्याण्डबीच बिहान साढे ८ बजेबाट सुरु हुनेछ । दोस्रो खेल महिलातर्फ नै न्यु डायमण्ड र पुलिसबिच हुनेछ ।
त्यसपछि पुरुषतर्फका २ खेल हुनेछ । पहिलो खेलमा पर्वत जिल्ला भलिबल संघ र माल्दिभ्स तथा दोस्रो खेल गण्डकी र पुलिसबिच हुनेछ ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् । सिंगल राउण्ड रोविनपछि शीर्ष दुई टोलीले फाइनल तथा तेस्रो र चौथो टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछन्।


















