नेपालगञ्ज(बाँके), १२ माघ । मधेश र कोशी प्रदेशमा चुनावी हलचल ल्याउनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट भावि प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरिनुभएका वरिष्ठ नेता बालेन साहको क्रेज पश्चिम नेपालको नेपालगञ्ज र बर्दियामा पनि उस्तै देखिएको छ ।
सोमबार उहाँ चुनावी प्रचारप्रसारका लागि नेपालगञ्ज र बर्दियाको सदरमुकाम गुलरिया पुग्नुभयो । त्यहाँ पनि उहाँप्रतिको आकर्षण उस्तै देखियो ।
सुदूरपश्चिमसम्म पुग्ने मिसनमा निस्कनुभएका साहलाई नेपालगञ्जको राँझा विमानस्थलमा समर्थकहरूले भव्य स्वागत गरे । काठमाडौंको मेयरबाट राजिनामा दिनुभएका साह रास्वपाको पार्टी कार्यालयमा प्रवेश गरेर जनकपुरमा आयोजित बहत् आमसभालाई संबोधन गर्न पुग्नुभएको थियो ।
त्यसपछि झापा ५ बाट उम्मेद्वारी दर्ता गराउन सडकमार्गबाट झापा पुग्नुभएका उहाँले मधेशका जिल्लाहरुमा हलचल ल्याउनुभएको थियो । झापामा समेत ठूलो संख्यामा समर्थकहरु उपस्थित गराउनुभएका साह माता पाथिभराको दर्शन गर्न जाँदा इलाम,पाँचथर र ताप्लेजुड.मा पनि आकर्षको केन्द्र बन्नुभयो ।
पाथीभरा दर्शन गरेर फर्कदा संखुवासभा, तेह्रथुम,भोजपुर, धनकुटा जिल्लामा पनि चुनावी लहर पैदा गरेर हिड्नुभएको थियो ।
रास्वपाका वरिष्ठ नेता शाह आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट चुनाव लड्दै हुनुहुन्छ। उहाँ एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग चुनाव लड्न लाग्नुभएको छ।
काठमाडौंको महानगरको मेयरमा ख्यालख्यालमै चुनाव जित्नुभएका युवा नेता साहको चुनाव प्रचार शैली बाहिर देखिए भन्दा पनि भिन्न रहने बताइन्छ । उहाँले प्रविधिको भरपूर उपयोग गरेर नवयुवाको पुस्तालाई प्रभावित पार्ने रणनीति अख्तियार गर्दै आउनुभएको छ । उहाँप्रति देखिएको क्रेजले आउदो चुनावलाई असर पर्ने विश्लेषकहरुको धारणा छ । झापामा बालेन पत्नी सविना काफ्लेले मतदातासँग भोट माग्नु सुरु गरिसक्नुभएको बताइन्छ ।


















