काठमाडौँ, १३ माघः आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा सोमबार समानुपातिकतर्फको २ करोड ८ लाख ५० हजारप्रति मतपत्र छपाइ कार्य सम्पन्न भएको आयोगले जनाएको हो ।
केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले समानुपातिकतर्फको मतपत्र छपाइ पूरा भएपछि प्रत्यक्षतर्फको सुरु भएको जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्रले सोमबारदेखि प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु गरेको छ । केन्द्रले यसअघि १० लाख ९८ हजार २ सय नमुना मतपत्र छपाइ गरेर निर्वाचन आयोगलाई पठाइसकेको थियो । ती मतपत्र मतदाता सचेतना तथा अन्य कामका लागि प्रयोग भइरहेका छन् ।
प्रमुख निर्वाचन आयुक्त भण्डारीको टोलीद्वारा मतपत्र छपाइको अनुगमन
निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलगायतका आयोगका पदाधिकारीहरुको टोलीले सोमबार जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमी पुगेर प्रत्यक्षतर्फको मतपत्र छपाइको अनुगमन एवं निरीक्षण गर्दै सो जानकारी दिएको हो । उहाँलाई केन्द्रका प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले मतपत्र छपाइको अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।
केन्द्रमा मतपत्र छपाइको निरीक्षणपछि सञ्चारकर्मीहरुलाई यसबारे जानकारी दिँदै प्रमुख निर्वाचन आयुक्त भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचनका समानुपातिक तर्फको मतपत्र छपाइ सम्पन्न गरी प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “समानुपातिकतर्फको दुई करोड आठ लाख ५४ हजार ८०० प्रति मतपत्र छपाइ आज सम्पन्न भएको छ । आजैदेखि प्रत्यक्षतर्फको दुई करोड तीन लाख २३ हजार मतपत्र छपाइ सुरु भएको छ । आगामी १५ दिनभित्र सबै मतपत्र छपाई हुनेछ । आगामी फागुन ५ गतेभित्र सबै निर्वाचन क्षेत्रमा मतपत्र पठाइसक्ने योजना रहेको छ ।”
निर्वाचन आयोगबाट निर्वाचन क्षेत्र, निर्वाचन स्थल र केन्द्रमा पठाउने मतपत्र छिटोभन्दा छिटो विभिन्न साधनहरुबाट पठाउने काम हुन लागेको जानकारी दिँदै उहाँले मतदानअघि मतपत्रको सुरक्षाका साथै निर्वाचनको सबै तयारी करिब पूरा भएको बताउनुभयो ।
भण्डारीले एक करोड ८९ लाख तीन हजार ६८९ मतदातालाई मतदानका लागि १० हजार ९६७ मतदानस्थलअन्तर्गत २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरेको बताउँदै निर्वाचनलाई सफल बनाउन सबै संवेदनशील हुनुपर्ने बताउनुभयो ।


















