Prakash Adhikari February 6, 2026

 

बडोधरा(गुजरात,भारत), २३ माघ(एजेन्सी) । भारतको महिला लिगको उपाधि दोस्रो पटक पनि रोयल च्यालेञ्जर्स बड.लुरुले जितेको छ ।

हिजो राति भएको खेलमा चारपटकको प्रतिस्पर्धी दिल्ली क्यापिटल्सलाई पराजित गर्दै बंगलुरुले उपाधि हासिल गरेको हो ।

स्मृति मन्धाना र जर्जिया भोलको ऐतिहासिक १ सय ६५ रनको साझेदारी गरेपछि रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले दिल्लीलाई ६ विकेटले हराएको हो।

योसँगै दिल्ली लगातार चौथो पटक‌ फाइनलमा पराजित भएको छ। पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ३ रनको विशाल योगफल तयार गरेको थियो।

जेमिमाह रोड्रिग्सले ३७ बलमा ८ चौकासहित ५७ रनको आक्रामक अर्धशतक प्रहार गरिन् । त्यस्तै लरा वोल्भार्ड्टले ४४ रन जोडिन्।

अन्तिम ओभरहरूमा चिनेल हेन्रीले लगातार चौका–छक्का प्रहार गर्दै टोलीलाई २ सय पार गराएकी थिइन्। उनले १५ बलमा ४ चौका र २ छक्कासहित नटआउट ३५ रन जोडिन् ।

आरसीबीकोतर्फबाट बलिङमा लरेन बेलले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा मात्र १९ रन खर्चिइन्।

२ सय ४ रनको लक्ष्य पछ्याएको आरसीबीले १९.४ ओभरमै ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। कप्तान स्मृति मन्धानाले ४१ बलमा १२ चौका ३ छक्कासहित ८७ रनको शानदार इनिङ खेलिन् ।

जर्जिया भोलले ५४ बलमा १४ चौकासहित ७९ रन जोड्दै ऐतिहासिक साझेदारी गरिन्। दुवैले मिलेर डब्ल्युपिएल इतिहासकै सबैभन्दा ठूलो साझेदारी गर्दै टोलीलाई जितको नजिक पुर्‍याए।

दिल्लीका लागि चिनेल हेन्रीले बलिङमा पनि चम्कँदै २ विकेट लिइन् । तर त्यो पर्याप्त हुन सकेन। अन्तिम ओभरमा १० रन आवश्यक हुँदा राधा यादवले लगातार २ चौका प्रहार गर्दै आरसिबीलाई जित दिलाइन्।

Share Now