वाईड बडी खरिदको भ्रष्टाचार छानवीन गर्न न्यायिक आयोग गठन गर्नुपर्छ : नेका वरिष्ठ नेता रामचन्द्र पौडेल
काठमाडौं, २३ भदौ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल वायुसेवा निगमले दुईबटा वाईड बडीका जहाज खरिद गर्दा भएको ६ अर्ब ५९ करोड रुपैया घोटालाको निश्पक्ष छानवीन गर्न न्यायिक आयोग गठनको माग गर्नुभएको छ ।
कांग्रेस नेता पौडेलले सुशासनमा देशलाई लैजान सरकारले गम्भीर पाइला नचाले मुलुक अस्तव्यस्त हुने चेतावनी दिनुभयो।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री ओलीले मुलुकमा भ्रष्टाचार अन्त्य गर्ने घोषणा गरे पनि सोहीअनुसारको काम गर्न नसकेको दाबी गर्नुभयो ।
उहाँले मुलुकमा भ्रष्टाचार अन्त्य गर्न प्रधानमन्त्री केपी ओली गम्भीर नभएको आरोप लगाउदै दुईवटा वाइड बडी विमान खरिदमा ठूलो आर्थिक घोटाला भएको दावी गर्दै छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग तत्काल गठन गर्न पनि सरकारसँग माग गर्नुभएको हो।
कांग्रेस वरिष्ठ नेता पौडेलले जिल्ला समन्वय समितिलाई कार्यकारी अधिकार दिनेगरी संविधान संशोधन गर्न पनि सरकारसँग माग गर्नुभयो।
उहाँले जिल्ला समन्वय समितिलाई कार्यकारी अधिकार दिएमात्रै संघीयता बलियो हुने भएकाले सोही अनुसारको व्यवस्था गर्न सरकारले संविधान संशोधन गर्न ढिलाई गर्न नहुने पनि स्पष्ट पार्नुभयो।
कांग्रेस वरिष्ठ नेता पौडेलले जिल्ला समन्वय समितिलाई कार्यकारी अधिकार दिने काममा ध्यान केन्द्रित गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई पनि आग्रह गनुभयो।


















