Prakash Adhikari September 8, 2018
काठमाडौं, २३ भदौ । नेपाल ईन्जिनियर्स एशोसिएसनले प्रदेश प्रमुख द्धय  ई.रत्नेश्वरलाल कायस्थ र  ई.उमाकान्त झा तथा रसुवा जिल्लाबाट निर्वाचित सांसद ई. मोहन आचार्यलाई शुक्रबार एक भब्य कार्यक्रमबीचमा सम्मानित गरेको छ ।
नेपाल सरकारको सिफारीशमा राष्ट्रपतिबाट नियुक्त हुनुभएका प्रदेश २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ  र  प्रदेश ५ का प्रदेश प्रमुख उमाकान्त झा दुवैले ईन्जिनियरि¨ समूहमा रहेर लामो समय निजामति सेवा अन्तरगत रही राष्ट्रसेवा गर्नुभएको थियो ।
दुवैजना निजामति सेवाको सचिवबाट अवकाश लिएपछि राजनीतिमा आउनुभएको हो ।
ई.मोहन आचार्य भने निर्माण व्यवसायमा संलग्न रहेकै बेला संघीय संसदको प्रतिनिधि सभामा रसुवाबाट निर्वाचित हुनुभएको थियो ।
ईन्जिनियरि¨ पेशामा आबद्ध भएर संघीय संसदको प्रतिनिधिसभामा निर्वाचित हुनुभएका भौतिक पूर्वाधार तथा यातायात  मन्त्री रघुबीर महासेठ भने देशबाहिर भएकोले उपस्थित हुन सक्नुभएन ।
समारोहमा सम्मानित प्रदेश प्रमुख कायस्थले ्तीनै तहबाट जनतालाई सेवा सुविधा पुर्याउन बार्षिक बजेट र कार्यक्रमद्धारा बिनियोजित स्रोत र साधनको अत्यधिक उपयोग हुनुपर्ने बताउनुभयो । उहाँले आयोजनाहरुलाई खण्डित गरेर उपभोक्ता समितिमार्फत काम गराउने प्रवृत्तिले निर्माणको लागत खर्च, निर्माण अवधि र गुणस्तर तीनै पक्षमा समस्या ल्याएको बताउनुभयो । उहाँले तीनै तहका सरकारका बीचमा समन्वय कायम गरि विकासलाई गति दिनुपर्ने बताउनुभयो ।
प्रदेश प्रमुख ई. कायस्थले नेपालका इञ्जिनियरहरुमा पर्याप्त ज्ञान,सीप र अनुभव भएपनि आफूले जाने र सोंचे अनुसार काम गर्न नपाएकोले सबैमा असन्तुष्टी रहेको बताउदै भन्नुभयो, “यही पढेको ईन्जिनियर बाहिर गयो परिणाममूलक काम पनि गरेको छ, सन्तुष्ट पनि छ । हामीले इच्छा अनुसार काम गर्ने अवसर पाएनौ, आफै निर्णयकर्ता भएर काम गर्ने उत्साह जागेपछि राजनीतिमा आउन पर्यो ।”
उहाँ प्रदेश प्रमुखमा नियुक्त हुनुपूर्व संघीय समाजवादी फोरमको प्रवक्ता हुनुहुन्थ्यो ।
कार्यक्रममा प्रदेश नं ५ का प्रदेश प्रमुख उमाकान्त झाले ईन्जिनियरहरु सिर्जनात्मक कार्यका संबाहक र समस्याको समाधान खोज्ने जनशक्ति भएकोले निर्माणका साथै प्रशासन र शासनका काम राम्रोसंग सम्पादन गर्न सक्ने बताउनुभयो । उहाँले ईन्जिनियरहरुमा समस्याको गहिराईमा पुगेर समाधान खोज्ने  भएकोले आफूले सम्हालेका विभाग,मन्त्रालय र आयोग तथा विभागीय मन्त्रीको जिम्मेवारी पनि कुशलतापूर्वक सम्पन्न गर्न सकेको उल्लेख गर्नुभयो ।
उहाँले वाग्मती सिंचाई आयोजनाको फिर्ता जानलागेको कुवेती फण्डको रकम फिर्ता ल्याउन सकिएको र रसियावाल खूर्दलोटन बाँधको समस्या समाधानमा एक बर्ष लगाएर छिमेकी मित्रराष्ट्रका नीति निर्मातालाई हाम्रो तर्कमा सहमत  समझदारी कायम गराउन सकिएको पनि बताउनुभयो ।
उहाँले नेपालमा केन्द्रीय सरकार र स्थानीय सरकार सञ्चालनको अनुभव लामो भएको र त्यसले जनताको समस्या सम्बोधन गर्न नसकेकोले संघीय व्यवस्था अन्तरगत प्रादेशिक सरकारको अभ्यास थालिएको बताउदै प्रदेश सरकार र व्यवस्थापिकालाई सफल तुल्याउन सबैको सहयोग आवश्यक भएको बताउनुभयो । उहाँले प्रशासनिक समायोजनमा विगतमा क्षेत्रीय र डिभिजन तहबाट गरिने कामलाई प्रदेश अन्तरगत ल्याएर कसरी राम्रोसंग सम्पादन गर्न सकिन्छ भन्ने विषयमा ईन्जिनियर्स एशोसिएसनले सुझाव दिनुपर्ने बताउनुभयो ।
सम्मान कार्यक्रममा सांसद आचार्यले कर्म क्षेत्रमा खटिने निर्माण व्यवसायी र ज्ञान,सीप र अनुभव भएका ईन्जिनियरका बीचमा अनुभव आदानप्रदानको खाड्ल रहेको उल्लेख गर्दै इन्जिनियर्स एशोसिएसनले त्यसलाई कम गर्नुपर्ने बताउनुभयो । उहाँले निर्माण व्यवसायीहरुको ज्ञान,सीप र अनुभवको स्तरोन्नति गर्नका लागि अनुरोध गर्दै रोचक प्रसंग  पनि सुनाउनुभयो, “म आफै ईन्जिनियर भएकोले आफैले निगरानी गर्दा लिएको काम निर्धारित समयभन्दा पहिल्यै सकेर पुरस्कृत भएको छु । समयमा  निर्माण  गर्न नसकिने भन्ने हुँदैन । धेरै निर्माण व्यवसायीमा ईन्जिनियरि¨ क्षेत्रको ज्ञान नभएकोले प्रतिकूल अवस्था सिर्जना भएको छ ।”
कार्यक्रममा नेपाल ईन्जिनियर्स एशोसिएसनका अध्यक्ष डा. हरेराम श्रेष्ठले संघीय  गणतन्त्र नेपालमा संघीयताको कार्यान्वयनको क्रममा नेपाल सरकारले विश्वास गरेर इन्जिनियरि¨ क्षेत्रका दुई अग्रज व्यक्तित्वलाई प्रदेश प्रमुखको ऐतिहासिक जिम्मेवारी सुम्पिनु एशोसिएसनका २८ हजार सदस्य इन्जिनियरको गौरवको विषय बनेको उल्लेख गर्नुभयो ।
उहाँले कर्मचारी समायोजन र दरबन्दी सिर्जना तथा मिलानको विषय इञ्जिनियर प्रदेश प्रमुख भएको प्रदेश र अन्य प्रदेशमा फरक पाइएको उल्लेख गर्दै वर्तमान पद समायोजनले वृत्ति विकासको अवसर सीमित गर्नुनहुने विचार राख्नुभयो । उहाँले इञ्जिनियरहरुको सक्रिय संलग्नता बिना समृद्धिको सपना साकार पार्न कठिनाई हुने यथार्थलाई सरकारले आत्मसात गर्नुपर्ने पनि उल्लेख गर्नुभयो ।उहाँले प्रदेश नं ३ मा खानेपानी, सिंचाई, भवन र शहरी विकास लगायतमा समस्या भएको गुनासो लिएर नेपाल ईन्जिनियर्स एशोसिएसनमा डेलिगेशन आइरहेको बताउनुभयो ।
एशोसिएसनका अध्यक्ष डा.हरेराम श्रेष्ठको सभापतित्वमा सम्पन्न सम्मान कार्यक्रममा महासचिव ई.उमेशप्रसाद थानीले स्वागत मन्तब्य दिनुभएको थियो ।उहाँले सम्पूर्ण ईन्जिनियरहरुले गर्व गर्नसक्ने गरि काम गर्ने सफलता प्राप्त हुन सकोस् भन्ने शुभकामना दिनुभएको थियो । कार्यक्रमको सञ्चालन एशोसिएसनका उपमहासचिव ई. रविभूषण झाले गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका उपकूलपति ई.प्रा. डा. जीवराज पोखरेलले सांसद ई मोहन आचार्यको,एशोसिएसनका पूर्व अध्यक्ष ई.महेन्द्रमान गुरुङ्गले प्रदेश ५ का प्रदेश प्रमुख ई.उमाकान्त झा र नेपाल ईन्जिनियर्स एशोसिएसनका पूर्व अध्यक्ष ई.किशोर शाक्यले प्रदेश २ का प्रदेश प्रमुख ई. रत्नेश्वरलाल कायस्थको व्यक्तित्व र जीवनीमा प्रकाश पार्नुभएको थियो ।
Share Now

Leave a comment.