Prakash Adhikari March 1, 2026

नयाँदिल्ली(भारत), १७ फागुन(एजेन्सी) । यस बर्षको टी २० विश्वकपको सेमिफाइनल पुग्ने जिम्बावेको सपना अधुरै रहने भएको छ ।

आईसीसी टी २० विश्वकप अन्तरगत आज दिल्लीमा सम्पन्न खेलमा जिम्बाब्वेका सिकन्दर राजा को अलराउन्डर प्रदर्शनका बाबजूद खेलको नतिजा दक्षिण अफ्रिकाको पक्षमा गयो । उनले टिमलाई हारबाट जोगाउन सकेनन् ।

सुपर एटको अन्तिम खेलमा जिम्बावेका सिकन्दरले ४३ बलमा ८ चौका र ४ छक्कासहित ७३ रन बनाए। उनले टोलीको कुल स्कोरको झन्डै आधा रन एक्लैले जोडे।

सुरुआतमा जिम्बाब्वेले राम्रो खेल्यो। पहिलो ओभरमा नै चौका र छक्का प्रहार भए। तर त्यसपछि नियमित रूपमा विकेट झरिरहे।
राजाले आक्रामक खेल जारी राख्दै १४ बलमा ३१ रन पुर्‍याए। उनले २९ बलमा अर्धशतक पूरा गरे। एक समय जिम्बाब्वे १ सय ७० रन आसपास पुग्ने देखिएको थियो।

तर ७३ रनमा आउट भएपछि टोलीको गति रोकियो। अन्ततः जिम्बाब्वेले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५३ रन बनायो।

१ सय ५४ रनको लक्ष्य जोगाउने क्रममा राजाले नै पहिलो ओभर बलिङ गरे। उनले पहिलो ओभरमै क्विन्टन डि ककलाई क्याच गराए। त्यसपछि एडेन मार्करमलाई बोल्ड गर्दै विपक्षीलाई दबाबमा राखे।

६ ओभर सकिँदा दक्षिण अफ्रिका ४३ रनमा ३ विकेट गुमाएर समस्यामा थियो। तर त्यसपछि डेवाल्ड ब्रेभिस र डेभिड मिलरले आक्रामक खेल देखाए। ब्रेभिसले टोलीका लागि सर्वाधिक ४२ रन जोडे। मिलरले पनि तीव्र गतिमा रन जोड्दै टोलीलाई लक्ष्य नजिक पुर्‍याए।

अन्त्यमा जर्ज लिन्दे र ट्रिस्टन स्टब्सले संयमित खेल खेल्दै १७.५ ओभरमै ५ विकेटको क्षतिमा लक्ष्य पूरा गरे।

खेलमा राजाले ३ विकेट लिए।

दक्षिण अफ्रिकाले मार्च ४ मा कोलकातामा न्यूजिल्यान्ड विरुद्ध पहिलो सेमिफाइनल खेल्नेछ।

Share Now