काठमाडौं, १७ चैत्र। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ पर्नुभएको छ। नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालयको टोलीले रिजाललाई पक्राउ गरेको हो ।
जेनजी आन्दोलनको बेला रिजाल काठमाडौंको सीडीओ हुनुहुन्थ्यो । जेनजी आन्दोलनको सत्य तथ्य छानबिन गर्न गठिन गौरीबहादुर कार्की आयोग समक्ष उहाँले सो आन्दोलनमा गोली चलाउन आदेश नदिएको र स्थिति नियन्त्रण गर्न स्थानीय प्रशासन ऐन मातहत रहेर प्रहरीले गोली चलाएको हुनसक्ने बयान दिनुभएको थियो । आयोगले उहाँलाई गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा प्रदर्शनकारीको गोली प्रहारबाट निधन भएकोमा जिम्मेवार ठहर्याएको छ ।
आयोगकै सिफारिसका आधारमा तत्कालीन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री एवम् कांग्रेस नेता रमेश लेखक गत शनिबार विदाको दिन अदालतको अनुमति बिना नै पक्राउ परिसक्नु भएको छ ।
उहाँहरु दुवैलाई प्रहरीले आइतबार अदालत पेश गरेको छ । उहाँहरुका तर्फबाट आइतबार दिइएको बन्दी प्रत्यक्षीकरण मुद्दामा अदालतले सरकारका नाममा कारण देखाउ आदेशमात्र जारी गरेको छ ।
तिनै रिजाल काठमाडौंका प्रमुख जिल्ला अधिकारी हुनुभन्दा अघि गृह मन्त्रालयको प्रशासन महाशाखाको प्रमुख हुनुहुन्थ्यो ।


















