काठमाडौं, ३ असोज। संयुक्त राष्ट्र संघको ७३ औँ महासभा (युएनजीए–७३)मा सहभागी भएर संबोधन गर्न प्रधानमन्त्री के.पी. शर्मा ओली सहितको प्रतिनिधि मण्डल शनिवार न्यूयोर्क प्रस्थान गर्ने भएको छ ।
मंगलवार (१८ सेप्टेम्बर) देखिमहासभाका औपचारिक कार्यक्रमहरु आरम्भ भएका छन् । मंगलबार स्थानीय समयअनुसार विहान साढे १० बजेदेखि परिवार नियोजन सम्बन्धी सत्र सुरु भएको छ।
महासभा अन्तर्गत विभिन्न विषयमा २ सय ७५ वटा कार्यक्रमहरु हुने छन्।
प्रधानमन्त्री ओलीले महासभालाई असोज ११ गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
संयुक्त राष्ट्रसंघले जारी गरेको सदस्य राष्ट्रको प्रतिनिधि सम्बोधन तालिकामा असोज ११ गते बिहीवार (सेप्टेम्बर २७) स्थानीय समय अनुसार अपराह्न ३ बजेदेखि ९ बजेसम्मको सत्रमा नेपालको तर्फबाट सम्बोधन हुने उल्लेख छ।
महासभामा असोज ९ देखि असोज १५ सम्म सदस्य राष्ट्रका तर्फबाट सम्बोधन गर्ने कार्यतालिका बनेको छ। जस अन्तर्गत नेपालका तर्फबाट सरकार प्रमुखले सम्बोधन गर्ने सूचीमा उल्लेख छ।
सम्मेलनमा असोज ९ गते राष्ट्रसंघका महासचिवले स्थानीय समयअनुसार विहान ९ बजे आफ्नो प्रतिवेदन पेश गर्ने छन् भने त्यसपछि महासभाका अध्यक्षले सम्बोधन गर्ने छन्।
सदस्य राष्ट्रका तर्फबाट सुरुमा ब्राजिलका राष्ट्रप्रमुखले सम्बधोन गर्ने सूची तय भएको छ। त्यसपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्बोधन गर्ने छन्। प्रधानमन्त्री ओलीले १०४ वटा देशका राष्ट्रका सरकारका प्रतिनिधि मण्डल प्रमुखहरुले सम्बोधन गरेपछि सम्बोधन गर्ने कार्यक्रम छ।
महासभामा प्रधानमन्त्री ओलीले संबोधनका क्रममा अतिकम विकसित राष्ट्र(एलडीसी) र अतिकम विकसित भूपरिवेष्ठित राष्ट्रको हित, जलवायु परिवर्तन, गरिबी निवारणलगायतका मुद्दालाई उठाउनु हुने बताइएको छ ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री ओली नेपाली प्रतिनिधि मण्डलमा कम्तीमा २० सदस्य हुनेछन्।
टोलीमा प्रधानमन्त्री ओलीसहित पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीसहित परराष्ट्र मन्त्रालयका अधिकारीहरु, प्रधानमन्त्री कार्यालयका अधिकारीहरु तथा प्रधानमन्त्रीका केही सल्लाहकारहरुसमसेत सहभागी हुने छन्। त्यस्तै नेपाली प्रतिनिधि मण्डलमा न्युयोर्कस्थत नेपाली नियोगबाट अधिकारीहरुसमेत सहभागी हुने छन्। हाल न्युयोर्कस्थित नेपाली नियोग भने राजदूतबिहिन छ ।
प्रधानमन्त्री ओलीले महासभाको साइडलाइनमा केही उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ । साइडलाइनमा भारतीय विदेशमन्त्री सुस्मा स्वराज र चिनियाँ विदेशमन्त्री वाङ यीले भेट गर्न सक्ने संभावना छ ।भारतबाट यसपटक विदेशमन्त्री स्वराज र चीनबाट विदेशमन्त्री यीले आफ्नो देशको प्रतिनिधित्व गर्ने छन्।
सार्क राष्ट्रबाट बंगलादेशका प्रधानमन्त्री तथा अफगानस्तान र श्रीलंकाबाट राष्ट्रपति सहभागी हुने कार्यक्रम छ। त्यस्तै भुटानबाट अन्तरिम सरकारका प्रमुख सल्लाहकार तथा भारत, पाकिस्तान र माल्दिभ्सबाट मन्त्रीको नेतृत्वमा सहभागिता हुनेछ ।
त्यस्तै प्रधानमन्त्री ओलीले न्यूयोर्क रहँदा त्यहाँस्थित नेपाली समुदायले आयोजना गर्ने कार्यक्रममासमेत सहभागी हुने कार्यक्रम तय भएको छ।
प्रधानमन्त्री ओली न्युयोर्कबाटै दक्षिण अमेरिकी राष्ट्र कोस्टारिका प्रस्थान गर्ने कार्यक्रम परराष्ट्र मन्त्रालयले बनाएको छ। कोस्टारिकाका राष्ट्रपतिबाट प्रधानमन्त्री ओलीलाई भ्रमणको निमन्त्रणा प्राप्त भएको छ।


















