Prakash Adhikari April 24, 2026
काठमाडौं, १० वैशाख । भ्रष्टाचाररहित सुशासनयुक्त शासन र प्रशासनको माग गर्ने विद्यार्थीहरुको बलिदानको जगमा आमचुनावबाट झण्डै दुईतिहाई सीट जितेर गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीको बालेन सरकारलाई वदनाम गर्न विद्युत क्षेत्रका माफियाहरु सक्रिय भएको पाइएको छ ।
नियम,कानून,निर्देशिका,ठेक्कापट्टाका लागि आह्वान भएका टेण्डर डकुमेण्टका शर्तहरुलाई घुस दिएर आफू अनुकुल बनाउदै आएका विद्युत क्षेत्रका डनहरुले नेपालको विद्युत क्षेत्रमा अत्यन्त महत्व राख्ने विद्युत प्रशारण र वितरण प्रणाली सुदृढीकरण (ईटीडीएस) परियोजनामा ठूलो चलखेल थालेका छन् ।
नेपाल विद्युत प्राधिकरणको उच्च स्रोतले दिएको जानकारी अनुसार यो परियोजनाको परामर्श चयन प्रक्रियामा प्रस्तावका लागि अनुरोध पत्र(Request for Proposal)का निर्धारित डकुमेण्टमा स्पष्ट किटानी व्यवस्था भएका प्रावधान विपरितको प्रस्तावदातालाई चयन गराउन प्राधिकरणका भ्रष्टहरुले वित्तीय सहयोग दाता एशियाली विकास बैंकमा पत्राचार गरेका छन् ।
ईटीडीएस परियोजनाको परामर्शका लागि मनशाय पत्र पेश गर्न विद्युत प्राधिकरणले सूचना आह्वान गरेकोमा विभिन्न कम्पनीले आशय पत्र दिएका थिए । ती मध्ये प्राविधिक मूल्यांकनमा प्राधिकरणले GOPA TECH GmbH, Nippon Koei Co Ltd, Power Grid Corporation of India Limited, SMEC International Pty Ltd, WAPCOS Limited लाई यो कामका लागि योग्य कम्पनीको सूचीमा चयन गरेको थियो।
प्राधिकरणले प्राविधिक योग्यता पुगेका कम्पनीहरुलाई वित्तीय प्रस्ताव पेश गर्न सूचना जारी गरी पत्राचार पनि गर्यो । प्राविधिक परीक्षणमा उत्तीर्ण भएका पाँच कम्पनी मध्ये GOPA TECH GmbH, Nippon Koei Co Ltd र Power Grid Corporation of India Limited,ले वित्तीय प्रस्ताव पेश गरेका थिए । ती तीन कम्पनीको वित्तीय प्रस्ताव २०२५ को डिसेम्बर १८ मा खोलिएको थियो ।
प्राधिकरणको उच्च स्रोतले दिएको जानकारी अनुसार गोपा टेक जीएमबीएचले अमेरिकी डलर ९३ लाख ५० हजार ९ सय १२.३० र नेपाली रुपैया ७ करोड ७० लाख, निप्पोन कोइले अमेरिकी डलर ९६ लाख ५० हजार ४ सय १२.३० अनि पावर ग्रीड कर्पोरेशन अफ इण्डिया लिमिटेडले अमेरिकी डलर ५७ लाख ५७ हजार ३ सय ८५.३० र नेपाली रुपैया ५५ करोड ७३ लाख ३३ हजार २ सय ७५ पेश गरेको थियो ।
प्राविधिक योग्यतामा उत्तीर्ण भएका कम्पनीहरुलाई नेपाल विद्युत प्राधिकरणले प्रदान गरेको प्रस्तावको अनुरोध पत्र( Request for Proposal) को खण्ड २(Section -2) अन्तरगतको आईटीसी तथा डाटा सिटमा उल्लेखित प्रावधानमा विशेष गरी प्रस्तावको मुद्रा सम्बन्धी दफा १६.४ मा स्थानीय खर्च सम्बन्धित मूल्यको अंश राष्ट्रिय मुद्रा(नेपाली रुपैया)मा उल्लेख हुनुपर्ने स्पष्ट किटानी व्यवस्था छ । साथै डाटा सिटमा पनि स्पष्ट रुपमा रूपमा “Consultant must state local costs in the Client’s country currency (local currency): Yes” भनी उल्लेख गरिएकोले स्थानीय खर्च अनिवार्य रुपमा नेपाली रुपैयामा नै उल्लेख गर्नुपर्ने टेण्डरदाताको मनशाय रहेको देखिन्छ । टेण्डरको किटानी व्यवस्था अनुकूल नभएकोले निप्पोन कोईको प्रस्ताव मूल्यांकनमा अस्वीकृत हुनुपर्ने देखिन्छ । तर अहिले त्यही कम्पनीका एजेण्ट आफ्नो कम्पनीलाई टेण्डर दिलाउन विद्युत प्राधिकरण, ऊर्जा मन्त्रालय र यसमा वित्तीय सहयोग गर्ने एशियाली विकास बैंकमा दौडधूपमा लागेका छन् ।
परामर्शको टेण्डरमा किर्तेधन्दा गर्नेहरुले सुरु प्रस्ताव गरेका परामर्शदाता फेर्ने गरेकोले यो टेण्डरमा विदेशी परामर्शदाता र जनशक्तिलाई डलरमा र स्वदेशी परामर्श दाता तथा जनशक्तिलाई दिइने पारिश्रमिक तथा सेवा सुविधा स्थानीय मुद्रामा उल्लेख गर्ने प्रावधान राखिएको थियो । तर परामर्शमा चलखेल गर्दै आएका भ्रष्ट कर्मचारी र भ्रष्ट परामर्शदाता कम्पनीहरुले यसलाई समेत निस्तेज बनाउन खोजेका छन्। ूूस्थानीय मुद्राको किटानी व्यवस्थाले नियोक्तामा अतिरिक्त भार थपिंदैन । अमेरिकी डलरको भाउ दिनदिनै बढिरहेको परिप्रेक्षमा प्रस्तावित मूल्य परियोजना सम्पन्न हुँदासम्म बढिरहने जोखिम हुन्छ । आजकै विनिमय दरमा पनि निप्पोन कोइले प्रस्ताव गरेको मूल्य प्रतिस्पर्धी पावर ग्रीड कर्पोरेशन अफ इण्डियाको भन्दा ३ करोड २० लाख रुपैया जतिले महंगो छ ।
कर्मठ, सोझा र इमान्दार प्रकृतिका युवा नेताको रुपमा स्थापित हुनुभएका ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पनि हुनुहुन्छ । त्यहाँ हुने हरेक भ्रष्टाचारजन्य कामको अपजस उहाँले पनि लिनुपर्ने हुन आउछ । उहाँले प्राधिकरणका भ्रष्ट प्रशासक, प्राविधिक र ठेकेदारहरुको त्रिपक्षीय गठबन्धनमा हुने अपारदर्शी र भ्रष्टाचारजन्य कार्यहरुमा सुक्ष्म निगरानी गर्न सक्नुभएन भने कुनै पनि दिन तिनीहरुले उहाँलाई पनि विवादमा तान्छन् । यसैले टेण्डर डकुमेण्टमा निर्धारित क्राइटेरियाबाहिर परेको प्रस्तावको समेत मूल्यांकन गर्नेहरुलाई समेत कारवाही गर्नुपर्ने देखिएको छ । भ्रष्टाचारजन्य क्रियाकलापमा मुछ्न खोज्नेको सातो नलिएसम्म भ्रष्टहरुले इमान्दारलाई फसाउने जगजगी रहिरहन्छ ।
इटीडीएस नेपालमा २२० केभी र ४०० केभीका ट्रान्समिसन लाईन निर्माण गरी देशभित्र विद्युतको भरपर्दो वितरण गर्ने र नेपालमा उत्पादित विद्युत भारत तथा भारतहुँदै तेस्रो मुलुक बंगलादेशसम्म पुर्याउनका लागि प्रशारण र वितरणको भरपर्दो सञ्जाल निर्माण गर्न एशियाली विकास बैंकको सहयोगमा संचालित परियोजना हो। यस्तो विद्युत प्रशारण तथा वितरण सञ्जालले विद्युत आयात, निर्यात र वितरणलाई सघाएर देशमा ऊर्जा विकास, उपयोग र निर्यातलाई प्रबर्धन गर्दछ । जुन देश र जनताको सुख र समृद्धिसंग गाँसिएको छ ।
Share Now