काठमाडौँ, ११ बैशाख । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवम् निर्माण व्यवसायी विक्रम पाण्डे र भीषण कन्स्ट्रक्सन प्रा.लि.का सञ्चालक ६४ वर्षीय टंककुमार श्रेष्ठलाई पक्राउ गरेको छ ।
सरकारी बोलपत्र आह्वान गर्ने प्रणाली ‘ई-गभर्मेन्ट प्रोक्युरमेन्ट’मा अनाधिकृत रूपमा प्रवेश गरी ठेक्काको विवरण हेरफेर गरेको अभियोगमा उहाँहरुलाई पक्राउ गरिएको बताइएको छ।
सीआईबीका अनुसार पाण्डे र श्रेष्ठमाथि सार्वजनिक खरिद अनुगमन कार्यालयको उक्त प्रणालीमा अनाधिकृत पहुँच पुर्याई बोलपत्रको गोपनीयता भंग गरेको आरोप लागेको छ।
उहाँहरूले विभिन्न ठेक्काहरूको आर्थिक प्रस्ताव खोल्नु भन्दा अगाडि नै प्रणालीभित्र छिरेर ुइकोनोमिक प्रपोजलुका डकुमेन्टहरूमा हेरफेर गर्ने गरेको अनुसन्धानबाट खुलेको सीआईबीको दावी छ ।
आफ्नो वा आफूले चाहेको कम्पनीलाई ठेक्का पार्ने नियतले सरकारी डाटाबेसमा अनधिकृत पहुँच बनाएर विवरण सच्याउनुलाई प्रहरीले गम्भीर अपराधको रूपमा लिएको छ।
ब्यूरोका अनुसार यो प्रकरणमा पक्राउ पर्नेको संख्या ९ जना पुगेको छ । सीआईबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिई पाण्डेलाई चण्डोल र श्रेष्ठलाई सामाखुसीबाट नियन्त्रणमा लिइएको बताउनुभएको छ।
यस घटनामा संलग्न अन्य प्राविधिकहरूको बारेमा पनि थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।


















