Prakash Adhikari April 27, 2026

 

काठमाडौं, १४ बैशाख । साताको पहिलो कारोबार दिन नेपालको शेयर बजार हरियो भएर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार अन्तिम समयमा सकारात्मक भएर बन्द भएको नेप्से, सोमवार पनि सामान्य अंक बढेर बन्द भएको हो।

सोमबार नेप्से परिसूचक ७.७३ अंक बढेर २७९६.४३ विन्दुमा पुगेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। गत शुक्रबार ५ अर्ब २७ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३ सय ५१ स्टकको १ करोड ९ लाख २८ हजार कित्ता शेयरको खरिदबिक्रीबाट ४ अर्ब ७४ करोड ८८ लाख ९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

यस दिन चार स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन कर्पोरेट डेभलपमेन्ट बैंक, पाल्पा सिमेन्ट इण्डष्ट्रीज, शिखर पावर डेभलपमेन्ट र सिटी होटलको शेयर सकारात्मक सर्किट लेभलमा अर्थात अघिल्लो कारोबार दिनको १५ प्रतिशत मूल्य बढेर कारोबार भएको हो।

त्यस्तै, यस दिन झापा इनर्जीको शेयरमूल्य साढे ९ प्रतिशत बढेको छ भने ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब ७ प्रतिशत बढेको छ। कारोबारमा आएको निफ्रा ग्रीन इनर्जी डिबेञ्चर ६ प्रतिशत २०८८÷८९ को मूल्य यस दिन सर्वाधिक १४.०१ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन रिलायन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३० करोड ७४ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन आँखु खोला जलविद्युत कम्पनीको कारोबार रकम २६ करोड रुपैयाँ नाघेको छ भने सोलु हाइड्रोपावरको करिब २४ करोड रुपैयाँको शेयर किनबेच भएको छ।

नेपालको शेयर बजारमा वर्गीकृत १३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.५२ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.३९ प्रतिशत घटेको छ।

Share Now