Prakash Adhikari May 7, 2026

काठमाडौँ, २४ बैशाख । पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचारमा अख्तियार दुरुपयोग अनुसन्धानले तेस्रो मुद्दा दायर गरेको छ । पछिल्लो मुद्दामा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनालाई प्रतिवादी बनाइएको छ ।

विशेष अदालतमा आज दायर मुद्दामा अख्तियारले ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बिगो मागदाबी गरेको छ।

यो मुद्दामा अख्तियारले ठेक्का सम्झौतामा भएको व्यवस्थाविपरीत ठेकेदारलाई राजश्व छुट दिएर भ्रष्टाचार गरेको दाबीसहित आरोपपत्र पेश गरेको छ ।

३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बिगो मागदाबी गरिएको मुद्दामा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित अर्थसचिव शंकरप्रसाद अधिकारी, तत्कालीन पर्यटन सचिव महेश्वर न्यौपाने, तत्कालीन सहसचिवद्वय सुरेश आचार्य र दुण्डुराज घिमिरे, पूर्वसचिव (तत्कालीन सहसचिव) केवल भण्डारी, नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जिव गौतम र निवर्तमान महानिर्देशक प्रदीप अधिकारी, उपसचिव युवराज पाण्डे, शाखा अधिकृत उर्मिला भण्डारी, इन्जिनियर योगेश अर्याललाई प्रतिवादी बनाइएको छ ।

त्यस्तै अख्तियारले चिनियाँ कम्पनी सीएएमसी त्यसका अध्यक्ष र परियोजना व्यवस्थापक अनि कम्पनी म्यानेजरलाई समेत मुद्दा चलाएको छ ।

अख्तियारले गत २१ मंसिरमा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीहरू भीम आचार्य, रामकुमार श्रेष्ठ, दीपक अमात्य, डा रामशरण महत र स्वर्गीय पोष्टबहादुर बोगटीलाई विपक्षी बनाएर अख्तियारले मुद्दा दर्ता गरेको थियो ।

त्यसपछि ८ चैतमा पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचारविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको थियो ।

 

 

Share Now