
काठमाडौं, ४ असोज । प्रधिनिधिसभाका सांसदहृदयेश त्रिपाठीले नेपाली सेनालाई ठेकेदार कम्पनी हुनबाट रोक्न माग गर्नुभएको छ ।
प्रधिनिधिसभाको बिहिबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद त्रिपाठीले सेना निर्माण व्यावसायमा लागेकोमा चर्को आलोचना गर्नुभयो । उहाँले यस्तो प्रवृत्तिले व्यवसायिक सेनाको पेशागत मर्यादामा आँच आउने दाबी गर्नुभयो । उहाँले सेना ठेक्कापट्टा र व्यापारमा लाग्ने हो भने धेरै किसिमका अप्ठ्यारा आउने बताउनुभयो ।
उहाँले निवर्तमान प्रधान सेनापति राजेन्द्र क्षेत्रीको सम्पत्तिबारे सञ्चार माध्यममा प्रश्न उठेको भन्दै अकुत सम्पत्तिको छानबिन गर्न सरकारसँग माग पनि गर्नुभयो ।
तात्कालीन नेकपा एमालेको चुनाव चिन्ह लिएर निर्वाचन जित्नुभएका सांसद त्रिपाठीले नेपाल वायुसेवा निगमले गरेको वाइडबडी विमान खरिद प्रकरणमा अनियमितता भएको दाबी गर्दै यसविषयमा संसदको सार्वजनिक लेखा समितिमा छलफल हुनुपर्ने बताउनुभयो ।
उहाँले निजगढको दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणमा डीपीआर नै तयार नगरी हचुवाको भरमा रुख काट्न लागिएकोमा पनि आपत्ति जनाउनुभयो ।