कीर्तिपुर(काठमाडौं), ४ जेठ । आइसीसी विश्वकप लिग टु छनोट चरणको नेपाल श्रृखला अन्तरगत आज नेपाली राष्ट्रिय टिम पाहुना टोली स्कटल्याण्डसंग खेल्दैछ ।
लिग २ अन्तरगतको १ सय ६ औं खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ः३० बजे सुरु हुनेछ ।
नेपाल आज स्कटल्याण्डलाई पराजित गरेर यही श्रृखलाको पहिलो खेलमा भएको २ रनको पीडादायी हार बिर्साउने तयारीमा रहेको छ । मे १२ मा भएको खेलमा दीपेन्द्र सिंह ऐरी र गुल्सन झाको अर्धशतक र सन्दीप लामिछानेको उत्कृष्ट बलिङलाई छायाँमा पार्दै स्कटल्यान्डले डिएल मेथडमा नेपाललाई २ रनले पराजित गर्न पुगेको थियो ।
त्यस दिन नेपालको विजयी यात्रामा बर्षा बाधक बन्यो । जितको लागि २ सय ४३ रनको लक्ष्य पाएपनि इनिङ्स ब्रेकको अन्त्यतिर परेको पानीले खेल सुरु हुन करिब एक घण्टा ढिला भयो।
त्यसपछि डिएल मेथडमा नेपालले ३९ ओभरमा २ सय २२ रनको फेरिएको लक्ष्य पायो। ३९ ओभरमा ७ विकेट गुमाउँदै नेपाल २ सय १८ रनमा समेटियो।
नेपालले सुरुवात राम्रो गर्न सकेन । ४५ रन मात्र जोड्दा पहिलो क्रमका तीन ब्याटरलाई गुमायो। ओपनर विनोद भण्डारी १० रनमा, अर्जुन कुमाल रनको खाता नखोली र आशिफ शेख २१ रन जोडेर आउट भए।
त्यसपछि कप्तान रोहित पौडेल र उप कप्तान दीपेन्द्रले चौथो विकेटका लागि ७६ रनको साझेदारी गरे। नेपाललाई ठुलो साझेदारी जरुरी रहँदा कप्तान रोहित अनावश्यक सट खेल्ने क्रममा आउट भए। उनी ३२ रन बनाएर ब्राड क्युरीको बलमा बोल्ड आउट भए।
लगत्तै अर्धशतक बनाएका दीपेन्द्र पनि आउट भए। उनी ४९ बल खेल्दै ५ चौका र १ छक्का सहित ५५ रन जोडेर आउट हुँदा नेपाल दबाबमा आयो। ओलिभर डेभिडसनको बलमा म्याकक्रेथद्वारा क्याच आउट हुँदा नेपालले १ सय २९ रन बनाएको थियो। आरिफ पनि ३ रनमा पबिलियन फर्कदा स्कटल्यान्डले खेलमा दबाब बनायो।
दुई हिटर करण केसी र गुल्सनले सातौं विकेटका लागि ४० रनको साझेदारी गरे। करण १८ रनमा आउट भए। उनी आउट हुँदा नेपाललाई ३० बलबाट जितको लागि ५२ रन जरुरी थियो। नन्दन यादवले गुल्सनलाई साथ दिए।
नेपाललाई जितको लागि अन्तिम १२ बलमा २८ रन आवश्यक रहँदा खेल रोमाञ्चक बन्यो। ३८ औं ओभरमा नेपालले १५ रन बनायो। यो क्रममा गुल्सनले २८ बलमा २ चौका ४ छक्का सहित अर्धशतक बनाए।
अन्तिम ओभरमा नेपाललाई १३ रन आवश्यक थियो। जहाँ १३ रन बन्दा नेपालले २ रनको हार बेहोर्यो। गुल्सनले ३५ बलबाट २ चौका र ५ छक्का सहित अविजित ६१ रनको पारी खेले। तर यो उत्कृष्ट पारीमा पनि नेपाललाई जित दिलाउन सकेनन् । नन्दन अविजित ८ रनमा रहे।
बलिङमा स्कटल्याण्डका ब्राड क्युरीले ३ विकेट लिंदा ब्रान्डन मार्क वाटले २ विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ४३ रनको योगफल तयार पारेको थियो।
स्कटल्याण्डलाई रोक्ने क्रममा नेपालका लागि सन्दीप लामिछानेले ४ विकेट लिए। उनले आफ्नो स्पेलमा १ मेडन राख्दै ४१ रन दिए।नन्दन यादवले अन्तिम ओभरमा २ विकेट झारे। नन्दनले ८ ओभरमा ३३ रन खर्चेर २ विकेट आफ्नो नाममा गरे।
करण केसीले ८ ओभरमा ५१ रन खर्चेर २ विकेट लिए।
हालसम्म लिग २ मा स्कटल्यान्डले ३० खेलबाट ३८ रन बनाएको छ । नेपालले २६ खेलबाट २० अंक जोडेको छ । पछिल्ला पाँच खेलहरुमा नेपालले ३ जित र २ हार ब्यहोरेको छ भने स्कटल्याण्ड तीन जित, एक हार र एक खेलमा नतिजा बिहिन हुन पुगेको छ ।
नेपालले यस अगाडि २ जुन २०२५ मा भएको खेलमा स्कटल्याण्डलाई एक बल बाँकी छँदा १ विकेटले जितेको थियो । त्यस्तै २९ अक्टोबर २०२४ मा भएको खेलमा २ सय २१ बल बाँकी रहदा ५ विकेटले जितेको थियो ।








