Prakash Adhikari May 23, 2026

कोलकाता, ९ जेठ (रासस/ एएफपी) : अमेरिकी विदेशमन्त्री मार्को रुबियो शनिबार पहिलो पटक भारत भ्रमणमा आउनु भएको छ । चीनसँग भएको शिखर सम्मेलनको एक हप्ता पछि उहाँ भारत आउनु भएको हो ।

रुबियोले भारतको कोलकाताबाट आफ्नो चार दिने, भारत भ्रमण सुरु गर्नु भएको छ । जहाँ उहाँले स्वर्गीय मदर टेरेसाको मिसनरीज अफ च्यारिटीको मुख्यालयको भ्रमण गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।

यो कार्यक्रम पछि रुबियो नयाँ दिल्ली जाने र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने अमेरिकी विदेश विभागले जनाएको छ ।

रुबियोले क्वाडका लागि आएका–अष्ट्रेलिया, भारत, जापान र संयुक्त राज्य अमेरिकाका विदेश मन्त्रीहरूको बैठकमा पनि सहभागी हुने जनाइएको छ ।

यसै बीच चीनले भने लामो समय देखि क्वाड माथि शङ्का गर्दै आएको छ ।

यस अघि अमेरिकी राष्ट्रपति ट्रम्पले गत हप्ता चीनको राजकीय भ्रमण गर्नु भएको थियो जहाँ उहाँले केहि घोषणा तथा सम्झौताहरु गर्नु भएको थियो भने राष्ट्रपति सी जिनपिङबाट प्राप्त स्वागतको प्रशंसा गर्नु भएको थियो ।

भारतसँग घनिष्ठ सम्बन्धको वकालत गरिरहेका रुबियोले पत्रकारहरूसँगको साक्षातकारमा यो भ्रमण आफ्नो जीवनको पहिलो भारत भ्रमण हुने बताउनु भएको छ ।

रूबियोसँग उहाँकी श्रीमती जेनेट पनि भारत भ्रमणमा आएको जनाइएको छ भने उनीहरुले भारतको आगरामा स्थित प्रेमको विश्व प्रसिद्ध स्मारक ताजमहलको भ्रमण गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।

Share Now