क्वाललम्पुर(मलेशिया), १३ जेठ । एसियन गेम्स २०२६ महिला छनोट खेलका लागि मलेसिया पुगेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज पहिलो खेल चीनसंग खेल्दै छ ।
खेल बिहान ११ः४५ मा सुरु हुने छ । क्रिकेटमा चीन कमजोर मानिन्छ ।यसैले नेपाली खेलाडीहरु आजको खेल जित्नेमा ढुक्क छन् ।
नेपाली महिलाहरुले तयारीको क्रममा आयोजक राष्ट्र मलेसियाको राष्ट्रिय टिमसंग दुई खेलको श्रृखला खेलेका थिए । दुवै खेल नेपालले जितेको थियो ।
शुक्रबार सम्पन्न दोस्रो खेलमा नेपालले घरेलु टोलीलाई सात विकेटले हराएको थियो भने पहिलो खेलमा नेपाल २ विकेटले विजयी भएको थियो।
एशियन गेम्स क्वालिफायरमा नेपाल च्याम्प्यिन बन्ने संभावना पनि छ । जम्मा छ राष्ट्रको सहभागिता रहेको यो प्रतिस्पर्धा दुई समूहमा हुँदै छ । नेपाल रहेको समूह बी मा इण्डोनेशिया, चीन र नेपाल रहेका छन् भने अर्को समूहमा थाईल्याण्ड, हंगकंग र मलेशिया रहेका छन् । नेपाल समूह बी को विजेता बनेमा उसले समूह ए को उपविजेतासंग सेमिफाइनल खेल्न पर्ने हुन्छ ।
नेपाली राष्ट्रिय महिला क्रिकेट टिम यही मे २३ देखि ३१ तारिखसम्म हुने एशियन गेम्स क्वालिफायर र जुन १ देखि १३ तारिखसम्म हुने एसीसी महिला प्रिमियर कपमा सहभागी हुन मलेसिया गएको हो ।








