
काठमाडौं,७ असोज । राष्ट्रकवि माधवप्रसाद घिमिरे आइतबार एक सय बर्ष पुग्नुभएको छ । उहाँले शताब्दी जन्मोत्सव साँझ हर्षोल्लासपूर्वक केक काटेर लैनचौरस्थित आफ्नै घरमा मनाउनुभयो ।
शताब्दी प्रवेशका अवसरमा राष्ट्रकवि घिमिरेले घरमै पूजापाठ पनि गर्नुभयो । उहालाई शताब्दी प्रवेशका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले निवासमै पुगेर शुभकामना दिनुभयो ।राष्ट्रपति भण्डारी पुष्पगुच्छा सहित राष्ट्रकविको निवास पुग्नुभएको थियो ।
राष्ट्रकवि दम्पत्तिले दिनभर कविवरलाई शुभकामना दिन आउने शुभचिन्तकहरुको स्वागत गर्नुभयो । साँझ जन्मदिनको अवसरमा केक काटेर हर्षोल्लासपूर्वक जन्मदिवसको समापन गर्नुभयो ।
लमजुङको बाहुनडाँडामाथि पर्ने भीर पुस्तुनमा विसं १९७६ असोज ७ गते जन्मनुभएका घिमिरे १२ बर्षमा शिक्षारम्भ गर्न दूराडाडा पुुग्नुभएको थियो । त्यसपछि राजधानी छिर्नुभएका उहाँ रानीपोखरी संस्कृत छात्रावास भर्नाभएर पढनुभयो ।परीक्षा दिन बनारससमेत पुग्नुभयो । उहाँकी पहिलो पत्नी गौरीको २००४ साल असार २२गते असामयिक निधन भएपछि जिल्ला फर्कनुभयो । जिल्लामा शिक्षक हुनुभयो । २००५ साल माघ पाँच गते दोस्रो विबाह गर्नुभयो ,महाकालीसँग ।
त्यसपछि जीवनमा नयाँ अनुराग लिएर उहाँ पुन काठमाडौ आउनुभयो । विस १९९२ सालदेखि नै साहित्य लेखनमा लाग्नुभएका कविवर घिमिरेको साहित्य साधना कविशिरोमणि लेखनाथ पौडेल, महाकवि लक्ष्मीप्रसाद देवकोटा नाटककार बालकृष्ण सम लगायतको सानिध्यबाट झन मुखरित हुनपुग्यो । उहाँको पहिलो प्रकाशित रचना ज्ञानपुष्ट १९९२मा गोरखापत्रमा छापिएको थियो । त्यसको दुईबर्षपछि १९९४सालमा नवमञ्जरी नामक कृति प्रकाशित भयो जसमा नौवटा कविता संग्रहित थिए ।
प्रथम पत्नि गौरीको निधनको ११ बर्षपछि २०१५ सालमा उहाँको पहिलो शोककाव्य गौरी प्रकाशित भयो । यसले नेपाली भाषी सबैको मन तान्यो । ‘यसबीचमा उहाँले घामपानी’, ‘नयाँ नेपाल’ र ‘किन्नर किन्नरी’ आदि गीति काब्य लेख्नुभयो । मालति मंगले जस्ता गीति नाटक लेख्नुभयो ।
नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको सदस्य हुँदै उपकुलपति समेत भैसक्नुभएका कविवर घिमिरेको अश्वस्थामा, मनचिन्ते झोली ,विजुला बिजुली नामक कृतिहरु पाठकसामु आइसकेका छन् ।
गोविन्द भन्ने महाकाब्यको लेखन थालनी गरेर बीचमै छाड्नुभएका कविवर घिमिरे ऋषम्भरा नामक अर्को महाकाव्य अर्कोबर्षसम्म नेपाली साहित्यप्रेमीबीच ल्याउने तयारीमा हुनुहुन्छ ।
नेपाल सरकारका विभिन्न पद र सम्मानबाट विभूषित कविवर घिमिरेका गीतहरु पनि चर्चित छन्। तीमध्ये ‘नेपाली हामी रहौँला कहाँ नेपालै नरहे’, ‘गाउँछ गीत नेपाली’, ‘सारंगी त रेटे पनि’, ‘लाग्दछ मलाई रमाइलो’, ‘आजै र राती के देखेँ सपना’, ‘आजभोलि दुख्दैन’लगायत गीतहरू चर्चित छन्। उनका यी गीतहरू अहिले पनि उत्तिकै गुंजिने गर्छन्। यी गीतहरू सदाबहार छन्।
बच्चादेखि वृद्धसम्मको मुखबाट यी गीतहरू सुन्न पाइन्छ।
मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानले यो वर्षभरी जन्म शताब्दी मनाउन कविवर घिमिरेको दम्पतीसहित रथारोहण र राष्ट्रियस्तरको अभिनन्दनलगायतका कार्यक्रम तय गरेको छ । रथारोहण कार्यक्रम यही असोज २१ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुनेछ ।