Prakash Adhikari June 13, 2026

 

काठमाडौं, ३० जेठ । नेपालमा रेमिटेन्स सेवाको पर्यायवाची बन्न पुगेको ‘आइएमई’ ले स्थापनाको २६ औं वार्षिकोत्सव शुक्रवार काठमाडौँमा सम्पन्न गरेको छ।

वार्षिकोत्सवको अवसरमा आइएमई लिमिटेडका संस्थापक तथा अध्यक्ष हेमराज ढकालले वित्तीय समावेशिता र आर्थिक रूपान्तरणलाई मूल मन्त्र बनाउँदै आगामी दिनमा डिजिटल इनोभेसनमार्फत अझ परिष्कृत, सुरक्षित र छिटोछरितो एकीकृत वित्तीय सेवा प्रदान गर्न दृढ संकल्पित रहेको बताउनुभयो।

उहाँले वैदेशिक रोजगारीमा रहँदा भोगेका अनुभवबाट जन्मिएको सानो परिकल्पना आज रेमिटेन्स सेवा मात्र नभई समग्र वित्तीय तथा डिजिटल भुक्तानी प्रणालीको एक भरपर्दो र अभिन्न अंग बन्न सफल भएको स्मरण गर्नुभयो। साथै, आइएमईले देशका दुर्गमदेखि सहरी क्षेत्रसम्म वित्तीय पहुँच विस्तार गर्दै आर्थिक समावेशिताको प्रवर्द्धन तथा सामाजिक–आर्थिक रूपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको पनि उहाँले बताउनुभयो।

उहाँले आर्टिफिसियल इन्टेलिजेन्स र मेसिन लर्निङको विकाससँगै सेवा प्रवाहको स्वरूप परिवर्तन भइरहेको सन्दर्भमा “आर्थिक रूपान्तरणसँग प्रविधिको विकास” लाई मूल उद्देश्य बनाउँदै नवीनतम प्रविधि आत्मसात् गरी रेमिटेन्स तथा अन्य वित्तीय सेवाहरूलाई अझ परिष्कृत, सुरक्षित र छिटोछरितो बनाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

कार्यक्रममा आइएमईका संस्थापक तथा ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले २६ वर्षको यात्रामा “रेमिट भनेकै आइएमई” र “आइएमई भनेकै रेमिट” भन्ने पहिचान स्थापित हुनु गर्वको विषय भएको बताउँदै यससँगै जिम्मेवारी पनि बढेको उल्लेख गर्नुभयो ।

उहाँले रेमिटेन्सलाई औपचारिक प्रणालीमार्फत भित्र्याउने, विदेशी मुद्रा सञ्चिति सुदृढ बनाउन योगदान गर्ने तथा प्राप्त विप्रेषणलाई उत्पादनशील क्षेत्रमा प्रवाह गरी राष्ट्रिय अर्थतन्त्रलाई गतिशील बनाउन सरकारसँग निरन्तर सहकार्य रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यसैगरी, आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले सहकार्य, प्राविधिक उत्कृष्टता, व्यावसायिक नैतिकता तथा साझा मूल्य–मान्यतालाई मुख्य कार्यदिशा बनाई आइएमईले सेवा प्रवाह गरिरहेको बताउनुभयो। उहाँले प्रविधिको विकासलाई आत्मसात् गर्दै विविधीकृत सेवामार्फत आम नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष रूपमा जोडिँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सो समारोहमा आइएमईको नयाँ लोगो समेत सार्वजनिक गरिएको छ । नयाँ लोगोले आइएमईका विस्तारित वित्तीय सेवाहरूलाई प्रतिनिधित्व गर्ने जनाइएको छ। वार्षिकोत्सवको अवसरमा आयोजित अन्तर–कम्पनी खेलकुद तथा विभिन्न प्रतिस्पर्धाका विजेता र उपविजेताहरूलाई प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिएको थियो। साथै, लामो समयदेखि कम्पनीमा आबद्ध कर्मचारीहरूलाई विशेष सम्मानसमेत गरिएको थियो। उक्त समारोहमा आइएमई लिमिटेड तथा आइएमई ग्रुपमा आबद्ध कम्पनीका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृतहरू, व्यवस्थापन प्रमुखहरू तथा कर्मचारीहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

कृतज्ञता ज्ञापन

आइएमई लिमिटेडले आफ्नो २६औँ स्थापना दिवस मनाइरहदा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले रेमिट्यान्स सेवालाई वैधानिकता दिन, भरपर्दो र विश्सनीय बनाउन नेपाल सरकार, नेपाल राष्ट्र बैंक तथा सम्पूर्ण नियामक निकायहरू, हाम्रा ग्राहकवर्ग, साझेदारहरू, बैंक तथा वित्तीय संस्थाहरू, कर्मचारी साथीहरू र प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ, सहयोग र विश्वास प्रदान गर्नुहुने यो सेवामा सहभागिता जनाउने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुभएको छ।

उहाँले विश्वका विभिन्न कुनामा आफ्नो पसिना बगाएर परिवारको खुसी र राष्ट्रको समृद्धिका लागि योगदान पुर्‍याइरहनुभएका लाखौँ नेपाली श्रमिक दाजुभाइ तथा दिदीबहिनीहरूप्रति उच्च सम्मान व्यक्त गर्नुभएको छ। उहाँले भन्नुभएको छ, तपाईंहरूले आफ्नो मेहनतको कमाइ स्वदेश पठाउन आइएमईमाथि गर्नुभएको विश्वास नै हाम्रो सबैभन्दा ठूलो पूँजी र प्रेरणा हो।
उहाँल्े विप्रेषणलाई औपचारिक प्रणालीमार्फत भित्र्याउने, विदेशी मुद्रा सञ्चिति सुदृढ बनाउन सहयोग गर्ने तथा त्यसलाई उत्पादनशील क्षेत्रमा प्रवाह गरी राष्ट्रिय अर्थतन्त्रलाई थप गतिशील बनाउन सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता निरन्तर कायम रहने बताउनुभएको छ।

उहाँले आइएमई ग्रुपले नेपालभित्रै उद्योग, पर्यटन, बैंकिङ, जलविद्युत, पूर्वाधार, सूचना प्रविधि तथा अन्य विविध क्षेत्रमा लगानी विस्तार गर्दै उत्पादन, रोजगारी, राजस्व र उद्यमशीलता अभिवृद्धिमार्फत मुलुकको आर्थिक रूपान्तरणमा योगदान पुर्‍याउँदै आएको स्मरण गर्दै भन्नुभएको छ, युवाहरूका लागि स्वदेशमै अवसर सिर्जना गर्ने, निजी क्षेत्रको क्षमता विस्तार गर्ने र समृद्ध नेपालको यात्रामा नेपाल सरकारसँग हातेमालो गर्दै अघि बढ्ने हाम्रो प्रतिबद्धता सधैं अटल रहनेछ।
आगामी दिनहरूमा पनि आइएमई नेपालीहरूको विश्वासको केन्द्र, वित्तीय समावेशीकरणको अग्रदूत र राष्ट्रको आर्थिक समृद्धिको साझेदारका रूपमा अझ समर्पित भएर अघि बढिरहनेछ।

Share Now