Prakash Adhikari June 16, 2026

काठमाडौं, ३१ जेठ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका संस्थापन इतर पक्षका नेताहरुसमक्ष पार्टीमा वृहत्तर एकताका लागि पठाइएको सात बुँदे प्रस्ताव सार्वजनिक गर्नुभएको छ ।

उहाँले सामाजिक सञ्जालमा अग्रज नेताहरुलाई चियापानको निमन्त्रणा दिंदैै पार्टीमा अभूतपूर्व एकता कायम गर्न आफूले प्रस्ताव पठाएको सो प्रस्ताव सार्वजनिक गर्नुभएको हो ।

पार्टीभित्र वर्तमान संस्थापन पक्षको विरुद्धमा देखिएका पूर्वसभापति शेरबहादुर देउवा र वरिष्ठ नेता डा. शेखर कोइरालाले संयुक्त रुपमा विराटनगरमा कोशी प्रदेशस्तरीय भेला आयोजना गर्ने कार्यक्रम बाहिरिएसंगै उहाँले सो प्रस्ताव सार्वजनिक गर्नुभएको हो ।

सार्वजनिक नगरी आन्तरिक राखिएको यस्तो थियो जेठ १६ मा पठाइएको परिमार्जित ७ बुँदे प्रस्ताव

विभिन्न कालखण्डमा विविध प्रकृतिका विवाद र फरक मत नेपाली काँग्रेस पार्टीभित्र प्रकट हुँदै आएका छन् । भिन्न मतहरू सुरक्षित गर्दै अभिन्न रहेर अघि बढ्ने नेपाली काँग्रेसको परम्परा दृस्टिगत गर्दै अघि बढ्न हामी प्रतिबद्ध छौँ ।

विशेष महाधिवेशन पश्चात् उत्पन्न परिस्थिति र अबको बाटोका सन्दर्भमा

१) विधानको १७(२) बमोजिम सम्पन्न विशेष महाधिवेशन, निर्वाचन आयोगले गरेको अद्यावधिक अनि सम्मानित सर्वोच्च अदालतले अन्तिम छिनोफानो गरिसकेको यथार्थ आत्मसात् गर्दै विमतिका सबै विषय बिर्सिएर एकताबद्ध भएर अघि बढ्ने l

* तर विशेष अधिवेशनको प्रक्रिया र परिणाम उपरको विमतिलाई आफ्नो राजनैतिक एजेन्डाका रूपमा १५ औँ महाधिवेशनको बन्दसत्रमा मौखिक / लिखित दुवै रूपमा प्रस्तुत गर्न सकिने l

* विशेष महाधिवेशनमा सहभागी रहेको या नरहेको आधारमा पार्टीका कुनैपनी सदस्यलाई फरक कोणबाट नहेर्ने, फरक व्यवहार नगर्ने l

२) महाधिवेशन तयारी क्रमको पहिलो चरण क्रियाशील सदस्यता अद्यावधिक गर्ने प्रक्रियालाई निर्धारित समयभित्र पूरा गर्ने l

( पार्टी विधानमा विगतदेखिनै रहेको यस सम्बन्धी व्यवस्थाबारे रहेका अस्पष्टतालाई स्पष्ट गरेर अघि बढ्ने )

३) पार्टीमा लामो समय योगदान गर्नुभएका अग्रज नेताहरू मध्येबाट केहि अग्रजलाई केन्द्रीय समितिमा वरिष्ठ नेताका रूपमा सम्मानित भूमिकामा स्थापित गर्ने l

४) विगतमा केन्द्रीय समितिमा रहेका र नरहेका साथीहरू मध्येबाट जिम्मेवारी निर्वाह गर्न इच्छुक साथीहरूलाई केन्द्रीय समितिमा निश्चित सङ्ख्यामा सम्मानपूर्वक जिम्मेवारी प्रदान गर्ने l कार्यसम्पादन समितिमा सम्मानजनक सहभागिता रहने l

(तर महाधिवेशनमा स्वतः भाग लिन पाइने परम्परा अन्त्य गरी, केन्द्रीय समितिमा रहेका सबैले वडा तहबाट नै प्रतिनिधि बनेर अनिवार्य आउनुपर्ने )

५) पन्ध्रौँ महाधिवेशन गराउने निर्वाचन समिति, अनुशासन समिति र क्रियाशील सदस्यता व्यवस्थापन समितिमा सम्मानजनक सहभागिता र सहकार्य गर्ने l

६) केन्द्रीय समितिको अङ्ग रहने गरी बैठकबाट १५ औँ महाधिवेशन व्यवस्थापन समिति गठन गर्ने l

७) भ्रातृ र शुभेच्छुक संस्थाहरूको केन्द्रीय समितिमा कार्य गर्न इच्छुक साथीहरूलाई सभापति नै अथवा पदाधिकारी या उहाँहरूको चाहना र योग्यता अनुरूपको जिम्मेवारी प्रदान गर्ने l

Share Now