Prakash Adhikari June 16, 2026

काठमाडौं, १ आषाढ । निर्माणाधीन योजनाको स्थलगत अवलोकन गर्न पृथ्वी राजमार्गको धादिड. खण्डमा पुग्नुभएका पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले समयमा काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिन निर्देशन दिनुभएपछि उहाँ विवादमा तानिनुभएको छ ।

आइतबार नागढुंगा–मुग्लिन सडक खण्डको निरीक्षण गर्दै उहाँले पोल नसार्नेसहितका काम नगर्ने ठेकेदारको मतलब नै नराखी खुट्टा भाँचिदिन निर्देशन दिनुभएको थियो ।

सडक विस्तार र पुननिर्माणको अवलोकन गर्दै उहाँले भन्नुभयो,’यिनीहरूको यो जुन पोलवाला छन् । बिजुलीको पोलको कन्ट्र्याक्टर कहाँ छ ? यो धर्तीमा कहाँ छ ? त्यसलाई खोजेर यहाँ लिएर आउनू । घर पठाउने होइन । त्यसले काम गरेन भने खुट्टा भाँचिदिनू, मतलब भएन ।’ उहाँले निरीक्षणका क्रममा थप चेतावनी दिँदै भन्नुभयो, ‘यिनीहरूले चाँडैभन्दा चाँडै पोल सार्न पर्‍यो । किनकि यहाँको पब्लिकले धेरै दुःख पाएका छन् । उनीहरूलाई राम्रोसँग काम गर्न लगाउन पर्‍यो । यो पोलको है, बिजुलीको पोलको । म्याटेरियलका लागि कत्तिको सहजीकरण चाहिन्छ, पूरा गर्न म्याटेरियल चाहिन्छ । यसको व्यवस्था हुन्छ ।’

उहाँको यो अभिव्यक्तिको सामाजिक सञ्जालमा विरोध भएको छ ।
.
नागढुंगा मुग्लिड. सडकको पश्चिम खण्डमा १०७ वटा पोल सार्न बाँकी रहेको र पूर्वी खण्डमा पनि ८० भन्दा बढी पोल सार्न बाँकी रहेको छ ।

मन्त्री लम्साले यस्तो निर्देशन दिँदा मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय र प्रहरी उपर सुमित खड़का अगाडि नै हुनुहुन्थ्यो। मन्त्री लम्सालले दिएको निर्देशनको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल छ।

धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयले मन्त्री लम्सालले समयमा काम गर्न भनेर निर्देशन दिएको बताउनुभयो । उहाँ निरीक्षणका लागि आउनुभएको थियो। हामी पनि जिल्ला सुरक्षा समितिको टिम गएका थियौँ। त्यस क्रममा उहाँले काममा ढिला नगरौं भन्ने निर्देशन दिनुभएको हो, प्रजिअ पाण्डले भन्नुभयो ।

नागढुंगा(मुग्लिन सडक योजना (पश्चिम खण्ड)की आयोजना प्रमुख एवं सिडिई सजना अधिकारीले सडक विभाग र नेपाल विद्युत प्राधिकरणबीच तीन वर्ष अगाडि नै बिजुलीको पोल सार्ने सम्झौता भएको बताउनुभयो। बिजुलीका पोलहरू विद्युत प्राधिकरणले सार्नपर्ने थियो। प्राधिकरणले पनि ठेक्का लगाएको थियो। तर ठेकेदार कम्पनीले सार्नुपर्ने पोल सारेको छैन। पोल नहट्दा अहिले बाटोमा काम गर्ने अवस्था नै भएन।अप्ठ्यारो भएको छ, उहाँले भन्नुभयो ।

प्रतिनिधि सभाको निर्वाचनको प्रचारमा जाँदा वर्तमान प्रधानमन्त्री र त्यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्रीका उम्मेद्वारको रुपमा प्रस्ताव गरिनुभएका पार्टीका वरिष्ठ उपसभापति बालेन्द्र शाहले पनि काम नगर्ने ठेकेदारलाई रुखमा बाँधेर काम गराउनु पर्ने अभिव्यक्ति दिनुभएको थियो ।

भौतिक पूर्वाधार मन्त्री लम्सालले प्रधानमन्त्रीको बोलीमा लोली मिलाउँदै ठेकेदारको खुट्टा भाँच्न निर्देशन दिनुभएको छ । राज्यलाई संवैधानिक र कानूनी ढंगले सञ्चालन गर्न झण्डै दुईतिहाई सांसद जिताएर पठाएका जनतालाई खुट्टा भाँचेर काममा लगाउने मन्त्रीको अभिव्यक्तिको सर्वत्र आलोचना भएको छ ।

 

Share Now