काठमाडौं, २१ आषाढ । फिफा विश्वकप २०२६ को नकआउट चरण (राउन्ड अफ १६) अन्तर्गत भएका दुई रोमाञ्चक खेलहरूमा मोरक्को र फ्रान्स क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।
मोरक्कोले फिफा विश्वकफ फुटबल २०२६ को सह–आयोजक क्यानडालाई पराजित गरेको हो भने फ्रान्सले पाराग्वेलाई ।
टेक्ससको ह्युस्टन स्टेडियममा भएको खेलमा मोरक्कोले सह–आयोजक क्यानडालाई ३–० को फराकिलो अन्तरले पराजित गर्यो। इतिहासमा पहिलो पटक विश्वकपको नकआउट चरण खेलिरहेको क्यानडाले पहिलो हाफमा मोरक्कोलाई कडा टक्कर दिएको थियो । तर दोस्रो हाफमा उसले त्यही गति र स्थिति कायम राख्न सकेन ।
खेलको ५०औँ मिनेटमा अज्जेदिन ओनाहीले डिबक्स बाहिरबाट उत्कृष्ट प्रहार गर्दै मोरक्कोलाई अग्रता दिलाए। पुनः ८२औँ मिनेटमा ब्राहिम डियाजको पासमा ओनाहीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे। खेलको इन्जुरी समयको अन्तिम मिनेटमा वैकल्पिक खेलाडी सुफियान राहिमीले गोल गर्दै मोरक्कोलाई ३–० को जित दिलाए।
यो जितसँगै मोरक्को विश्वकप इतिहासमा एकभन्दा बढी पटक क्वार्टरफाइनलमा पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको छ।
पेन्सिलभेनियाको फिलाडेल्फिया स्टेडियममा भएको अर्को खेलमा उपाधि दाबेदार फ्रान्सले पाराग्वेमाथि १–० को कठिन जित हासिल गर्यो। अत्यधिक गर्मी (३८ डिग्री सेल्सियस) का बीच खेलिएको यस खेलमा जर्मनीलाई हराएर आएको पाराग्वेले बलियो रक्षात्मक रणनीति अपनाउँदै फ्रान्सेली स्ट्राइकरहरूलाई ६५ मिनेटभन्दा बढी समय रोकेर राख्यो।
६७औँ मिनेटमा पाराग्वेका डिफेन्डरले फ्रान्सका डिजेरे डोइलाई डिबक्स भित्र लडाएपछि भीएआरको लामो रिभ्युमार्फत फ्रान्सले पेनाल्टी पायो। ७०औँ मिनेटमा कप्तान किलियन एम्बाप्पेले उक्त पेनाल्टीलाई कुनै गल्ती नगरी गोलमा परिणत गरे।
यो गोलसँगै एम्बाप्पेको यस विश्वकपमा कुल ७ गोल पुगेको छ र उनी अर्जेन्टिनाका लियोनेल मेसीसँगै सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा छन्।
खेलको अन्तिम मिनेटमा पाराग्वेका गोलकिपर ओर्लान्डो गिलले एम्बाप्पेका दुईवटा उत्कृष्ट प्रहार उत्कृष्ट तरिकाले बचाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।
अब आउँदो बिहीबार ९जुलाई ९० मा हुने महाभिडन्तमा सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्को बोस्टन स्टेडियममा आमनेसामने हुनेछन्।








