बोस्टन(संयुक्त राज्य अमेरिका),२६असार (एजेन्सी) । कप्तान केलियन एम्बाप्पेले पहिलो हाफमा पेनाल्टी चुकाए पनि दोस्रो हाफमा गोल र असिस्ट दुवै गर्दै फ्रान्सलाई मोरोक्कोमाथि २-० को जित दिलाएका छन्।
योसँगै दुई पटकको विश्व च्याम्पियन फ्रान्स लगातार तेस्रो पटक फिफा विश्वकपको सेमिफाइनलमा पुगेको छ। बोस्टन स्टेडियममा भएको क्वार्टरफाइनलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।
खेलको ६०औँ मिनेटमा एम्बाप्पेले पेनाल्टी क्षेत्रको बाहिरबाट उत्कृष्ट कर्लिङ प्रहार गर्दै फ्रान्सलाई अग्रता दिलाए। त्यसको ६ मिनेटपछि उनले नै पास मिलाएपछि उस्मान डेम्बेलेले सहज फिनिस गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए।
गोल्डेन बुटको दौडमा एम्बाप्पे अहिले अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीसँग समान गोलमा पुगेका छन्। तर बढी असिस्ट गरेका कारण एम्बाप्पे शीर्ष स्थानमा छन्।
खेलको सुरुआतदेखि नै फ्रान्सले बलमा नियन्त्रण राख्दै दबाब बनाएको थियो। पाँचौँ मिनेटमा डायोट उपामेकानोको हेडर मोरक्कोका गोलरक्षक यासिन बोनोले सहजै नियन्त्रणमा लिए।
पहिलो हाफमै नुसैर माजराउईले एम्बाप्पेलाई पेनाल्टी क्षेत्रमा लडाएपछि फ्रान्सले पेनाल्टी पायो। तर एम्बाप्पेको प्रहार बोनोले सानदार बचाउ गरेपछि पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।
दोस्रो हाफमा भने एम्बाप्पेले गल्ती सच्याउँदै प्रतियोगितामा आफ्नो आठौँ गोल गरे। त्यसपछि डेम्बेलेका लागि गोलको अवसर सिर्जना गर्दै टोलीलाई सहज जित दिलाए।
यो जितसँगै प्रशिक्षक डिडिएर देसाँको टोली लगातार तेस्रो विश्वकपको सेमिफाइनलमा पुगेको छ।
फ्रान्सले सन् २०१८ मा विश्वकप जितेको थियो भने २०२२ मा अर्जेन्टिनासँग फाइनलमा पराजित हुँदै उपविजेतामा सीमित भएको थियो।
फ्रान्सले अब सेमिफाइनलमा बेल्जियम र स्पेनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
तथ्य
– एम्बाप्पेले फ्रान्सका विश्वकपका सबै ६ खेलमा गोल गरेका छन्।
– उनी ८ गोलसहित गोल्डेन बुट दौडमा संयुक्त अग्रस्थानमा छन्। अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीको पनि८ गोल छ ।
– विश्वकप इतिहासमा लियोनेल मेसी (२१) पछि सबैभन्दा धेरै गोल गर्ने खेलाडी एम्बाप्पे बनेका छन्। उनको नाममा अब २० गोल पुगेका छन्।
– यो खेलमा केलियन एम्बाप्पे ‘ प्लेयर अफ द म्याच’ घोषित भए।








