Prakash Adhikari July 13, 2026

डल्लास(संयुक्त राज्य अमेरिका),२९ असार (एजेन्सी) फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा फ्रान्स र स्पेन भिड्दै छन् ।डालासमा खेल नेपाली समयअनुसार भोलि राति १२:४५ बजे सुरु हुनेछ।

खेलको सबैभन्दा आकर्षण भने विश्व फुटबलका दुई स्टार किलियन एमबाप्पे र लामिन यामालबीचको प्रतिस्पर्धा हुनेछ।

विश्वकपमा उनीहरू पहिलो पटक आमनेसामने हुन लागेका हुन्। तर समग्रमा भने यो उनीहरूको राष्ट्रिय टोली र क्लबमा गरि ११औँ भेट हुनेछ। अहिलेसम्म भएका १० भेटमध्ये यामालको टोली ८ पटक विजयी भएको छ।

राष्ट्रिय टोलीमा यामालकै दबदबा

एमबाप्पे र यामाल राष्ट्रिय टोलीबाट २ पटक आमनेसामने भएका छन् र दुवै खेल सेमिफाइनलमै भएका थिए।

युरो २०२४ को सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २-१ ले हराउँदा यामालले उत्कृष्ट गोल गरेका थिए।

एक वर्षपछि युइएफए नेसन्स लिग २०२५ को सेमिफाइनलमा पनि स्पेनले ५-४ को रोमाञ्चक जित निकाल्यो। त्यस खेलमा यामालले २ गोल गरे भने एमबाप्पेले पनि १ गोल गरेका थिए।

स्पेनका प्रशिक्षक लुइस डे ला फुएन्तेले त्यसपछि भनेका थिए, ‘म लामिनका लागि निकै खुसी छु। उनले आज सबैलाई सशक्त सन्देश दिएका छन्।’

पिएसजीविरुद्ध बार्सिलोना हुँदा एमबाप्पे हाबी

एमबाप्पे र यामाल पहिलो पटक १० अप्रिल २०२४ मा च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा भिडेका थिए। पहिलो लेगमा बार्सिलोनाले पिएसजीलाई ३-२ ले हरायो।

तर दोस्रो लेगमा एमबाप्पे चम्किए। उनले २ गोल गर्दै पिएसजीलाई ४–१ को जित दिलाए र टोलीलाई सेमिफाइनलमा पुर्‍याए।

एल क्लासिकोमा यामाल अगाडि

एमबाप्पे २०२४ मा रियल म्याड्रिड पुगेपछि उनी र यामालबीच एल क्लासिकोमा ६ पटक भेट भएको छ।

बार्सिलोनाले
– २०२५ को स्पेनिस सुपर कप फाइनल ५-२ ले जित्यो।
– २०२६ को सुपर कप फाइनल ३-२ ले जित्यो।
– २०२५ को कोपा डेल रे फाइनल अतिरिक्त समयमा ३-२ ले आफ्नो पक्षमा पार्‍यो।

ला लिगामा पहिलो एल क्लासिकोमा बार्सिलोनाले ४-० को जित निकाल्यो। अर्को भेटमा एमबाप्पेले ह्याट्रिक गरे पनि रियल म्याड्रिड ४-३ ले पराजित भयो। त्यो खेलमा यामालले पनि गोल गरेका थिए।

यद्यपि अक्टोबर २०२५ मा भएको पछिल्लो ला लिगा भेटमा एमबाप्पेले गोल गर्दै रियललाई २-१ को जित दिलाए। जुन बार्सिलोनामाथि उनको पहिलो ला लिगा विजय थियो।

आँकडामा को बलियो?

अहिलेसम्म १० भेटमध्ये
– यामालको टोली ८ पटक विजयी
– एमबाप्पेको टोली २ पटक विजयी

तर व्यक्तिगत प्रदर्शनमा भने एमबाप्पे अगाडि छन्।
– एमबाप्पे – ९ गोल
– यामाल – ६ गोल

विश्वकपमा नयाँ अध्याय

१८ वर्ष वा सोभन्दा कम उमेरमा विश्वकपमा ५ भन्दा बढी खेल खेल्ने पहिलो खेलाडी बनेका यामालले जारी विश्वकपमा १ गोल मात्र गरेका छन्।

बेल्जियममाथिको क्वार्टरफाइनल जितपछि उनले भनेका थिए, ‘गोल नगर्दा मलाई निराश लाग्दैन। मैले युरो २०२४ पनि एक गोल गर्दै जितेको थिएँ। यदि विश्वकप पनि जितेँ भने मैले कति गोल गरेँ भन्ने कुरा धेरैले याद गर्ने छैनन्।’

एमबाप्पेले रुसमा भएको विश्वकप २०१८ मा १९ वर्षको उमेरमै ४ गोल गर्दै फ्रान्सलाई उपाधि दिलाएका थिए र प्रतियोगिताको सर्वोत्कृष्ट युवा खेलाडी घोषित भएका थिए।

हाल फ्रान्सेली टोलीको कप्तान रहेका एम्बाप्पेको टोलीले स्पेनलाई हरायो भने फ्रान्स लगातार तेस्रो पटक विश्वकप खेल्ने टोली बन्नेछ।

अब डलासमा हुने सेमिफाइनलमा एमबाप्पे आफ्नो व्यक्तिगत प्रतिस्पर्धाको अन्तर घटाउन चाहन्छन् भने यामाल पहिलो विश्वकपमै उपाधि जित्दै आफ्नो करिअरमा अर्को ऐतिहासिक उपलब्धि थप्ने लक्ष्यमा हुनेछन्। अर्को सेमिफाइनलमा इंग्ल्यान्ड र अर्जेन्टिनाबीच हुनेछ।

Share Now