Prakash Adhikari July 14, 2026

 

सेन्टहेलियर(जर्सी, च्यानल आइल्याण्ड), २९ आषाढ। आईसीसी लिग २ का खेल सुरु हुनुअगाडि अभ्यासको लागि जर्सी भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आयोजक जर्सीविरुद्धको एकदिवसीय खेल ८१ रनले जितेको छ ।

नेपालले ब्याटर कुशल भुर्तेलको शतकको मदतमा जर्सीलाई ८१ रनले पराजित गरेको हो ।

नेपालले प्रस्तुत गरेको २ सय ५१ रनको लक्ष्य पछ्याएको जर्सी ४१ ओभरमा १ सय ६९ रनमो समेटियो । मध्यक्रमका ब्याट्सम्यान चार्ली ब्रेननले ८२ रनको शानदार पाली खेलेपनि अन्यले खासै ब्याटिङ गर्न सकेनन् ।

नेपालका हेमन्त धामीले ४ तथा आरिफ शेखले ३, करन केसीले २ तथा सन्दीप लामिछानेले १ विकेट लिए ।

जर्सी भ्रमणमा रहेको नेपालले पहिले ब्याटिङ गर्दै ८ विकेट गुमाएर २ सय ५० रन बनायो ।

भुर्तेलले १ सय ५ रनको शानदार ईनिङ्स बनाएको खेलमा भिम सार्कीले ३९ र हेमन्त धामीले १९ रनको अविजित पारी खेलेका थिए ।

खेलमा आशिफ शेखले १६, रोहित पौडेलले १५, ईशान पाण्डेले १ र आरिफ शेखले ११ रन बनाएका थिए ।

नेपालले पर्सी बुधबार दोस्रो तथा अन्तिम वान डे म्याच खेल्नेछ ।

जर्सी च्यानल आइल्याण्डमा पर्ने एक टापु हो । च्यानल आइल्याण्डका एल्डरनी, गुर्नसे,हेम,सार्क र जर्सी मध्ये जर्सी नै सबैभन्दा ठूलो टापु हो । ११८ वर्ग किमी क्षेत्रफलमा फैलिएको यो टापुको जनसंख्या १ लाख ७१ हजार ९ सय १६ रहेको विकिपिडियामा जनाएको छ ।

आईसीसी लिग २ को नेदरल्याण्ड श्रृखला नेपाल,आयोजक नेदरल्याण्ड र नामिबियाबीच यही जुलाई २१ देखि ३१ सम्म नेदरल्याण्डमा हुँदै छ ।

Share Now