Prakash Adhikari July 15, 2026

ड्याल्लास(टेक्सास,संयुक्त राज्य अमेरिका),३१ आषाढ । फ्रान्सलाई स्तब्ध पार्दै स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ ।

अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनलमा फ्रान्सलाई २–० ले पराजित गर्दैै स्पेन १६ वर्षपछि फाइनलमा प्रवेश गरेको हो ।

स्पेनको जितमा पेड्रो पोरो र मिकेल ओयार्जाबलले एकएक गोल गरे । खेलको २२औं मिनेटमा पेनाल्टी गोलमार्फत स्पेनले पहिलो अग्रता लिएको थियो ।

२०औं मिनेटमा फ्रान्सका डिफेन्डर लुकास डिग्नेले डिबक्सभित्र स्पेनका लामिन यामललाई लडाएपछि स्पेनले पेनाल्टी पाएको थियो । मिकेल ओयार्जाबलले पेनाल्टीलाई खेर जान नदिइ गोल गरे ।

त्यसपछि ५८औं मिनेटमा दानी ओल्मोको असिस्टमा पेड्रोले गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए । त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन र स्पेन २–० ले विजयी भयो ।

जारी विश्वकपमा किलियन एम्बाप्पेको नेतृत्वदायी प्रदर्शनमा चम्किएको फ्रान्स स्पेनसँग निरिह बन्न पुग्यो । सन् २०१० को विश्वविजेता स्पेन १६ बर्षपछि पहिलोपटक फाइनलमा पुगेको हो ।

स्पेनसँग पराजित हुँदा फ्रान्स लगातार तेस्रोपटक फाइनलमा पुग्नबाट बञ्चित बन्यो ।

अब स्पेनले उपाधिका लागि अर्जेन्टिना र इंग्ल्यान्डबीचको विजेतासँग खेल्नेछ ।

Share Now