क्वालालम्पुर(मलेसिया), ३१ आषाढ । नेपाल एसीसी महिला यु १९ प्रिमियर कपको सेमिफाइनलमा पुगेको छ । यो सँगै नेपाली यु १९ टिम एसिया कपमा छनोट पनि भएको छ ।
मलेसियामा जारी प्रिमियर कपमा आज जापानलाई ९ विकेटको फराकिलो अन्तरमा हराउँदै नेपाल अन्तिम चारमा पुगेको हो।
जितको लागि ८७ रनको सामान्य चुनौती नेपालले ११ ओभर २ बलमा १ विकेटको क्षतिमा हासिल गर्यो ।
आजको खेलमा ओपनरद्वय साना प्रवीण र सावित्री धामीले पहिलो विकेटको लागि ४२ रनको साझेदारी गरे। १८ रन जोडेर साना आउट भइन्।
त्यसपछि सावित्री र कप्तान सोनी पाख्रिनले नेपाललाई जिततर्फ डोर्याए। उनीहरूले दोस्रो विकेटको लागि अविजित ४८ रनको साझेदारी गरे।
सावित्री ४१ रनमा अविजित रहिन्। ३२ बल खेल्दै ७ चौका प्रहार गरिन्। उनले यसअघि तीन खेलमा लगातार तीन अर्धशतक बनाएकी थिइन्।
सोनीले अविजित १८ रन जोडिन्।
नेपाललाई रोक्ने क्रममा बलिङमा जापानकी ममता कासवानले १ विकेट लिइन्।
त्यसअघि टस जितेको जापानले पहिले ब्याटिङ गर्ने निर्णय गर्यो। जापाने २० ओभरको निर्धारित खेलमा सबै विकेट गुमाउँदै ८६ रन मात्र बनायो।
ओपनर नाटसुमे वाडा डक आउट हुँदा आयने साकुराबा १० रनमा आउट भए। दुई विकेट गुमाउँदा जापानले २८ रन बनाएको थियो।
यसपछि कप्तान बियान्का सिनो र किचो सुजुकीले तेस्रो विकेटको लागि ३५ रनको साझेदारी गरे। सुजुकी १० रनमा आउट भइन्। यसपछि थप २३ रन जोड्दा ८ विकेट गुमायो।
बियान्काले अविजित ३८ रन जोडिन्। ८ खेलाडीले दोहोरो रन छुन सकेनन्। ७ खेलाडीले रनको खाता नखोली आउट भए।
बलिङमा नेपालकी रिया शर्मा र क्रिस्मा गुरूङले समान २ । २ विकेट लिए।
नेपाल समुह चरणको तीन खेलमा शानदार विजयी बनेर क्वाटर फाइनलमा पुगेको हो।
अब नेपालले युएईसँग सेमिफाइनलमा खेल्नेछ ।इन्डोनेसिया र थाइल्याण्डबीच अर्को सेमिफाइनल हुनेछ। यी चारै राष्ट्र यु १९ एसिया कपमा छनोट भएका छन्।








