Prakash Adhikari July 18, 2026

 

क्वालालम्पुर(मलेसिया), २ साउन । एसीसी महिला यु १९ प्रिमियर कपमा नेपाल तेस्रो भएको छ। इन्डोनेसियालाई ९ विकेटले हराउँदै नेपालले तेस्रो स्थान हासिल गर्न सफल भएको हो।

मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास क्रिकेट ओभरमा टस हारेर फिल्डिड.को निम्तो पाएको नेपाललाई इण्डोनेशियाले ६९ रनको लक्ष्य दिएको थियो ।

नेपालले सो लक्ष्य १४.२ ओभरमा १ विकेटको नोक्सानीमा पूरा गर्यो। २४ रन बनाएर ओपनर सावित्री धामी आउट हुँदा नेपालले ३३ रन बनाएको थियो। उनी रन आउट हुन पुगिन्।

त्यसपछि सना प्रवीण र करूणा बिष्टले नेपाललाई जिततर्फ डोर्याए। सना अविजित २५ रनमा र करूणा अविजित १६ रनमा क्रिजमा रहे। नेपालले ९ विकेटको सानदार जित हात पार्यो।

इन्डोनेसियाका कुनैपनि बलरले विकेट लिन सकेनन्।‌

त्यसअघि पहिले ब्याटिङ गरेको इन्डोनेसियाले २० ओभरमा ९ विकेट गुमाउँदै मात्र ६८ रन बनायो।

२८ रन जोड्दा ६ विकेट गुमाइसकेको इन्डोनेसियाको लागि सातौं क्रमकी डेर्नी राम्बु बाङ्गीले सर्वाधिक अविजित ३४ रन जोडिन्। नी पुटु इलिनले ११ रन बनाइन्। यी दुई बाहेक अन्यले दोहोरो रन छुन सकेनन्।

मनिषा उपाध्यायले ४ ओभरमा मात्र ७ रन दिएर ४ विकेट लिइन्। अनु कडायतले २ विकेट झारिन्।

नेपाल हिजो सेमिफाइनलमा युएईसँग सुपर ओभरमा पराजित भएको थियो। नेपाल यो प्रतियोगितामा‌ तेस्रो भएको छ भने यु-१९ एसिया कपमा छनोट भैसकेको छ।

Share Now