काठमाडौं, १२ साउन। सोमबार साँझ बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले आवश्यक परे संयुक्त सुरक्षा टोली परिचालन गर्ने निर्णय गरेको छ ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा दुई समूहबीचको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछिको अवस्थाको समीक्षा गर्न केन्द्रीय सुरक्षा समितिको बैठक सोमवार साँझ बसेको थियो ।
केन्द्रीय सुरक्षा समिति बैठकमा गृहमन्त्रालयद्धारा गठित छानबिन समितिले गरेको कामका बारेमा पनि ब्रिफिङ भएको गृह मन्त्रालयकी प्रवक्ता रमा आचार्यले बताउनुभएको छ ।
गृह मन्त्रालयको अध्यक्षतामा हुने केन्द्रीय समितिमा गृहसचिव, बैठकमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी बलका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक र नेपाली सेनाका प्रतिनिधि सहभागी हुनुहुन्थ्यो ।
‘घटनाको सूचना संकलन गर्ने, थप मद्दत चाहिएको खण्डमा पर्याप्त जनशक्ति उपलब्ध गराउने, सम्बन्धित सहजीकरण, आगामी दिनमा घटना घट्न नदिन के गर्न सकिन्छ भनेर हेर्ने लगायतका निर्णय भएका छन्,’ उहाँले भन्नुभएको छ।
सुनसरीको सो घटनापछि गृहमन्त्री सुधन गुरुङले सुरक्षा प्रमुखहरूसँग मन्त्रालयमा छलफल आयोजना गर्नुभएको थियो ।
सो छलफलपछि सुनसरी घटना छानबिनका लागि गृहमन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको थियो ।
सहप्रवक्ता आचार्यका अनुसार छानबिन समितिलाई प्रतिवेदन बुझाउन एक हप्ताभित्र म्याद दिइएको छ । सो समितिले यस्ता घटना दोहोरिन नदिन केके गर्ने भनेर सुझाव समेत दिनेछ ।
केन्द्रीय सुरक्षा समितिको बैठकमा सुनसरी घटनासहित देशको समग्र शान्ति सुरक्षाको अवस्था विश्लेषण गर्दै आवश्यक रणनीति बनाउने निर्णय पनि भएको छ ।








