Prakash Adhikari July 31, 2026

काठमाडौं, १५ साउन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले समाजमा शान्ति र सद्भाव कायम राख्न सबैलाई जिम्मेवारीपूर्ण भूमिका खेल्न अनुरोध गर्नुृभएको छ ।

सुनसरी, सिरहा,सप्तरी, जनकपुर र पर्सा लगायत पूर्वी र मध्य तराईका जिल्लाहरुका मुख्य शहरमा साम्प्रदायिक हिंसा भड्केर प्रहरीको गोलीबाट तीन जना नागरिकको मृत्यु भएपछि स्थितिलाई साम्य पार्न उहाँले सामाजिक सञ्जालबाट शान्ति सन्देश दिनुभएको हो ।

उहाँले आफ्नो सन्देशमा भन्नुभएको छ, हालै तराई(मधेस क्षेत्रमा भएका संवेदनशील घटनाक्रमहरूले हामी सबैलाई चिन्तित बनाएको छ। हामीले बिर्सनु हुँदैन, नेपाल सदियौं देखि विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिको साझा फूलबारी हो। यो अनुपम एकता नै हाम्रो असली शक्ति हो ।

उहाँले आवेग र उत्तेजनामा नआउन आग्रह गर्दै भन्नुभएको छ, “आवेग वा उत्तेजनाले समाजलाई फाइदा पुर्याउँदैन। वर्तमान परिस्थितिमा संयम, विवेक र आपसी संवाद् नै सबैभन्दा ठूलो औषधि हो । राजनीतिक नेतृत्व, धार्मिक गुरु र नागरिक समाज सबैले शान्ति र सहिष्णुता कायम राख्न जिम्मेवार भूमिका खेलौं ।”

उहाँले सामाजिक सञ्जालका प्रयोगकर्तालाई संवेदनशील विषयमा संवेदनशील भएर विचार राख्न आग्रह गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “सामाजिक सञ्जाल र सञ्चार माध्यममा घृणा फैलाउने कुराहरूलाई निरुत्साहित गरौं र समाजलाई जोड्ने सकारात्मक सन्देशहरू मात्र सेयर गरौं ।”

नेता कोइरालाले मृतकहरूप्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दै घाइते आन्दोलनकारी र सुरक्षाकर्मीको पनि शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । उनीहरुकोउपचारमा राज्यले कुनै कसुर बाँकी नराखोस् भन्ने पनि उहाँले सुझाव दिर्नुभएको छ ।

उहाँले सबैलाई आह्वान गर्दै भन्नुभएको छ, “आउनुहोस्, एकजुट भएर सामाजिक सद्भावको यो कडीलाई अझ बलियो बनाऔं । विविधतामा एकता नै हाम्रो शान हो ।”

Share Now