काठमाडौं,१९ साउन । विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा ठेकेदार कम्पनीलाई राजस्व छुट दिएर भ्रष्टाचार गरेको आरोप लागेका नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० का पूर्वमहानिर्देशक प्रदीप अधिकारीलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।
विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य, सदस्यहरू हेमन्त रावल र विदुर कोइरालाको इजलासले यो आदेश दिएको अदालतकी सूचना अधिकारी पार्वती हितानले जानकारी दिनुभयो। तर, अधिकारी अन्य मुद्दामा समेत थुनामा रहेका कारण यो मुद्दाको धरौटी बुझाए पनि तत्काल थुनामुक्त हुनसक्ने अवस्था छैन।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वैशाखमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। ठेक्का सम्झौतामा ठेकेदार कम्पनीले नै राजस्व तिर्ने उल्लेख, भए पनि त्यसको विपरीत राजस्व छुट दिएको आरोपमा उनीहरूमाथि ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १ सय ६० रुपैयाँ बिगो मागदाबी गरिएको छ। राजस्व छुटसम्बन्धी यसअघिका मुद्दामा अन्य आरोपितहरू पनि धरौटीमा छुटीसकेका छन्।








