Prakash Adhikari August 10, 2026

काठमाडौं, २४ साउन । नेपाली कांग्रेसका पूर्वकार्यबाहक सभापति एवम् संस्थापन इतर पक्षका नेता पूर्णबहादुर खड्काले राष्ट्रिय भेलाको पूर्वसंध्यामा पार्टी सभापति गगन थापालाई पार्टीमा सम्पूर्ण एकताका लागि अनुरोध गर्नुभएको छ ।

उहाँले आइतबार सामाजिक सञ्जालमा मुुलुक विद्यमान विषम राजनीतिक परिस्थितिको विश्लेषण गर्दै पार्टीलाई एकताबद्ध बनाएर लैजान आग्रह गर्नुभएको हो ।

उहाँले पार्टीको आधिकारिकताको बिबादका बिषयमा सम्मानित सर्वोच्च अदालतले निस्सा दिएको तीन दिनमा सामाजिक संजालमा पार्टीकै साथीहरूबाट व्यक्त भएका विचार,टीका-टिप्पणीले आफूलाई साहृै चिन्तित बनाएको उल्लेख गर्नुभएको छ।

उहाँले भन्नुभएको छ,”इतिहासमै देशको राष्ट्रियता अत्यन्त प्रतिकुल र संकटापन्न अवस्थामा पुगेको , लोकतान्त्रिक संविधान धरापमा पार्ने षडयन्त्र भैरहेको अवस्था अनि काँग्रेस पार्टी ईतिहासमै सबैभन्दा बढि कमजोर र प्रतिकुल अवस्थामा रहेको बेलामा आजको प्रथम अपरिहार्य आवश्यकता भनेको नेपाली काँग्रेसको सम्पूर्ण एकता हो । यसका लागि हामीबीचमा सहिष्णुता , संवेदनशिलता र सहअस्तित्वको समभाव सृजना गरी सम्वाद,सहमति अनि यसबाट सुदृढ एकता पूर्वशर्त हो वर्तमान भीमकाय चुनौतिहरुको सामना गर्नका लागि ।”

उहाँले व्यक्तिगत इर्ष्या, रिस, द्धेष, कुण्ठालाई त्यागेर पार्टी र देशको हितमा केन्द्रित हुन आग्रह गर्दै भन्नुभएको छ, “यसका लागि पार्टीका हामी जिम्मेवार प्रत्येक व्यक्तिले हाम्रा व्यक्तिगत अस्वाभाविक महोत्वाकाङ्क्षा, अहंकार, घमण्ड , प्रतिशोध अनि कुण्ठा मुक्त भएर सामुहिक भावनाबाट पार्टीको सम्पूर्ण एकताका लागि तत्काल निरर्णायक अग्रसरताका लागि अघि बढौ ।”

उहाँले सर्वोच्च अदालतले पुनरावलोकनका लागि दिएको निस्सा पार्टी एकताको लागि अन्तिम अवसर भएको उल्लेख गर्दै भन्नुभएको छ, सम्मानित सर्वोच्च अदालतको पूर्ण ईजलासले पुनरावलोकनको लागि दिएको निस्सा हामीलाई पार्टीको सम्पूर्ण एकता गर्ने अन्तिम अवसर दिएको हो भन्ने हेक्का राखौँ ।
उहाँले पार्टी एकताको अन्तिम निर्णयकर्ता सभापति भएको संझाउँदै भन्नुभएको छ,”पार्टी सभापति गगन थापाजीसंग मेरो विशेषविशेष आग्रह र अनुरोध छ, तपाईं हिम्मत र साहसका साथ तत्काल पार्टीको सम्पूर्ण एकताका लागि अग्रमोर्चामा अग्रसर हुनुस्, हामी अरु सबै यसकालागि सहयोगी हौँ र बन्छौ ।तर, यहाँनिर स्पष्ट हुन जरुरी छ,निर्णायक तपाईं हो, तपाईं !”

उहाँले पार्टी एकताका लागि वातावरण निर्माण गर्नका लगि पार्टीका र भातृ-शुभेच्छुक संस्थाका सबै तहका नेता साथीहरूलाई विशेष अनुरोध पनि गर्नुभएको छ। उहाँले भन्नुभएको छ,”राष्ट्र रहे बहुदलीय लोकतन्त्र रहन्छ, पार्टी रहन्छ, अनि त्यसमा हामी रहने ठाउँ रहन्छ नभए सबै खरानी हुन्छ हामी सबैमा हेक्का रहोस ।”

उहाँले सामाजिक संजालको दोहोरी र गाली गलौजले कहिं पुगिदैन भन्दै यो प्रवृत्ति सबै लागेर बन्द गरौ भन्नुभएको छ ।

Share Now