- प्रदीप बस्याल
बीबीसी न्यूज नेपाली
काठमाडौं, २५ साउन । दोलखाको यालुङ री हिमालको हिमपहिरोमा गत वर्षको कात्तिकदेखि हराएका पाँच जना आरोही तथा शेर्पा गाइडको शव गत साता हिउँ पग्लिएर सतहमा देखिएपछि आइतवार सङ्कलन गरिएको उद्धारकर्ता र अधिकारीहरूले बताएका छन्।
आरोही तथा हेलिकप्टर उद्धारकर्ताहरूको समूहले ुट्रेकिङ पीकुका रूपमा चिनिने उक्त हिमालको चुचुरो नजिकैबाट ती शवहरू सङ्कलन गरिएको बीबीसीलाई बताएका छन्। उक्त शव दोलखाको ना गाउँमा ल्याइएको उनीहरूले बताएका छन्।
“जीवनको आशा मारे पनि महिनौँदेखि शवको खोजी रोकिएको थिएन। अन्ततः बारम्बारको प्रयासपछि उनीहरूका परिवारले शव पाउन सक्ने भएका छन्”, उद्धारमा संलग्न आरोही फुर्वा तेञ्जिङ शेर्पाले ना गाउँबाट बीबीसीसँग भन्नुभयो।
“गत साताको अन्तिम तिरै केही स्थानीयबासीले शव देखिएजस्तो भनेर जानकारी दिएका थिए। तर त्यसपछि पनि मौसम अनुकूल नहुँदा त्यहाँ पुग्न समस्या भएको थियो। आइतवार बिहान छोटो समयका लागि खुलेको मौसमबीच छिटोछिटो शव तल झार्ने काम सम्भव भयो।”
बर्षा याम जारी रहेकाले पुनः हिमपात र हिमपहिरोमा उक्त शव बिलिन हुनसक्ने सम्भावना रहेको मूल्याङ्कन गरेर चुनौतिपूर्ण रूपमा शव सङ्कलन गरिएको त्यसमा संलग्नहरूले बताएका छन्।
हराउनेमा दुई जना नेपाली र तीन जना विदेशी नागरिक थिए। हाल शव फेला पारिएकाहरू गाइडको रूपमा गएका दुई जना नेपाली र बाँकी आरोहीका रूपमा गएका जर्मन, इटली र क्यानडाका नागरिकहरू भएको जिल्ला प्रहरी कार्यालय, दोलखाका प्रवक्ताले जानकारी दिनुभएको छ।
“सबैको शव पहिचान गर्न सकिने अवस्थामा रहेको विवरण आएको छ”, प्रहरी निरीक्षक सन्तोषकुमार खड्काले भन्नुभयो, “यससँगै उक्त विपद्मा ज्यान गुमाउने सबैको शव प्राप्त भएको छ।”
हिउँ पग्लिँदा दुर्लभ रूपमा शव देखिए
रोल्वालिङ उपत्यकामा करिब ९ महिनाअघि भएको उक्त विपद् लगत्तै इटली र फ्रान्सका दुई जना आरोहीको शव भेटिए तापनि अन्य बेपत्ता भएका थिए।
पर्वतारोहीहरू ६,३३२ मिटर अग्लो डोल्मा खाङ हिमाल आरोहण गर्नुअघि पूर्वाभ्यासका क्रममा यालुङ री पुगेका थिए।
उक्त हिम पहिरोले झन्डै ३०० मिटर तल बगाउँदा कालको मुखमा परेजस्तो अनुभूति भएको र आफू भाग्यले बाँचेको हिम पहिरोले बगाएर पनि बाँचेकी फ्रान्सेली आरोही ईजबेल ताऊँले यसअघि बीबीसीलाई बताउनुभएको थियो।
“झट्टा सुन्दा सानो हिमाल भए पनि पोहोरदेखि नै कहिले त्यहाँ पुग्नै नसकिने कहिले केही सङ्केत नै नभेटिने भइरह्यो”, फुर्वा तेञ्जिङ शेर्पाले भन्नुभयो ।
“हिमपहिरोमा परेर कहिल्यै शव नभेटिका घटना इतिहासमा छन्। त्यस हिसाबले एक वर्षभित्रै यसरी सबैको शव भेटिनु दुर्लभ घटना नै मान्नुपर्छ।”
प्रहरी निरीक्षक खड्का यसअघि हराइरहेका आरोहीसँग भएका उपकरणले पनि पहिचान गर्न नसकेको भनिएको अवस्थामा शव फेला पर्न सक्नुलाई एउटा सफलता मान्नुपर्ने बताउनुभयो।
“हिउँ पग्लिने क्रममा शवका केही भाग सतहमा देखिएपछि ढिलो नगरीकन शवहरू सङ्कलन गर्ने काम भएको हो। मौसम खुल्नासाथ काठमाडौं पुर्याएर परिवारहरूलाई हस्तान्तरण गर्ने काम हुन्छ”, खड्काले थप्नुभयो।
गत बसन्त याममा समेत सगरमाथाको आधार शिविर नजिकै खुम्बु आईसफलमा एउटा शव भेटिएको अधिकारीहरूले बताएका थिए।
खोजी रोकिएको थिएन
आरोहण सञ्चालक समेत रहेका फुर्वा तेञ्जिङ शेर्पा गत वर्षको कात्तिकदेखि आफूहरू र मृतकका परिवार शव भेट्ने आशामा निरीक्षणमा गइरहेको बताउनुभयो।
“यसपटक पनि शव देखिएजस्तो भन्ने सूचना पाएपछि हामीहरू जान खोज्दा प्रतिकूल मौसमका कारण गइहाल्न सकेनौँ। आइतवार बिहान साढे एक घण्टाजति मात्र समय खुल्दा ७(८ पटक हेलिकप्टर उडान गरेर मौका गुम्न दिएनौँ”, फुर्वा तेञ्जिङ शेर्पाले भन्नुभयो ।
“नत्र बर्खाको मौसम छ। फेरि हिमपात भएर शवहरू पुरिन सक्थे। हिमालमा हिमपहिरो गइरहन्छन्। त्यस्तोमा फेरि ती शव अहिले देखिएको ठाउँमै नरहन सक्थे। त्यसैले हामीले ढिलो गरेनौँ। करिब पाँच हजार मिटरको उचाईमा शव भेटिँदा पनि क्र्याम्पन्स लगाएर जानुपरेको थियो।”
आइतवार सबेरै फुर्वाको नेतृत्वमा हेलि एभरेस्टका पाइलटद्वय प्रिया अधिकारी र पास्तेन्जी शेर्पा, अर्का उद्धारक बाबुराम ठकुरी, नेपाल प्रहरीका जयश्वर पटेलको टोली त्यहाँ पुगेको थियो।
“मौसम प्रतिकूल हुँदाहुँदै निकै छोटो समयमा उद्धारको काम गरियो। त्यसकै लागि शनिवार नै दोलखाको क्याल्चेमा हेलिकप्टर ल्याएर राखिएको थियो। बिहानको छ र आठ बजेबीचमा सबै काम सकियो”, नेपाल प्रहरीका पटेलले बताउनुभयो।
उहाँले मृतकहरूका आफन्तहरूसम्म यसबारे जानकारी पुगिसकेको र विदेशबाट समेत आफन्तहरू नेपाल आइसकेको बताउनुभयो ।
“हालैको घटना भएकोले र आरोहणअघिका तस्बिर र हाम्रै सम्झनाहरू पनि ताजै रहेका कारणले उनीहरूका लुगा र अन्य गिअरका भरमा पहिचान गर्न समस्या भएन”, फुर्वा तेञ्जिङले भन्नुभयो।
“यो साहसी हेलिकप्टर पाइलटहरूको सहयोगमा तल भुइँमा हामीले निकै छिटोछिटो काम गर्दा सम्भव भयो। नत्र त मौसम तीन दिनदेखि खराब थियो। आइतवार पनि हामीले तलपट्टि ना गाउँमा शवहरू ल्याउँदा ल्याउँदै त्यो बिग्रियो र काठमाण्डू फर्कनै नसकिने भयो।”
घटनापछि गत कात्तिकमा एक हप्ता लामो खोज अभियानमा ती शवहरू फेला परेका थिएनन्। गत जेठमा समेत त्यहाँ शव भेटिने सम्भावनाको खोजीका लागि बारम्बार पुगेको आरोहण सञ्चालकहरू बताउँछन्।
विशेष आरोहण कौशल नचाहिने भनेर चिनिने ुट्रेकिङ पीकुमा नेपालमा तुलनात्मक रुपमा मौसम स्थिर रहने शरद याममा गत वर्ष हिमपहिका कारण घातक दुर्घटना भएको थियो।








