Prakash Adhikari August 10, 2026
  • शरद केसी
    बीबीसी न्यूज नेपाली

काठमाडौं, २४ साउन। अध्यागमन विभागले हालसालै सार्वजनिक गरेको तथ्याङ्कमा नेपालीहरू विश्वका सबैजसो देशहरूमा पुगेका छन्।

विभागको “वार्षिक पुस्तिका” मा नेपाली नागरिकहरू सन् २०२५ मा विश्वका २३१ वटा देशहरूमा पुगेको उल्लेख छ।

नेपालीहरूको अचम्मलाग्दो विदेश यात्राको विवरण समेटिएको विभागको “वार्षिक पुस्तिका २०८३ श्रावण” साउन १९ गते आफ्नो वेबसाइटमा राखिएको हो।

“श्रम, पुँजी र प्रविधिको विकास र विस्तारले नेपालीहरू सबै मुलुकमा पुग्न सक्ने अवस्था देखिएको छ,” विभागका प्रवक्ता टीकाराम ढकाल भन्नुहुन्छ।

“त्यो यथार्थ विवरण हो, कुनै देश १० जना गएका छन् भने कोको हुन् भन्ने विवरण विभागमा रहन्छ।”

अधिकारीहरूका अनुसार चीन प्रशासित हङकङ वा मकाउ हुन् वा संयुक्त राष्ट्रसङ्घमा गएकाहरूको विवरण पनि देशको श्रेणीमा राखिएकाले मुलुकहरूको सङ्ख्या धेरै देखिएको हो।

नेपालीहरूको विदेश यात्राको बिस्तारबारे ठट्यौली पारामा पूर्व श्रमसचिव विष्णु लम्साल भन्नुहुन्छ, “पृथ्वीभन्दा बाहिर पनि कुनै देश रहेछ भने त्यहाँ पनि नेपाली पुगेका हुन सक्छन् भन्ने अवस्था छ।”

नेपालीहरू पुगेका ती देशहरू

अध्यागमन विभागको विवरण अनुसार नेपालीहरू सबैभन्दा धेरै ‘मुलुक’ पुगेको सन् २०२५ मा हो। त्यसवर्ष एकजना नेपालीले मात्र यात्रा गरेका देशहरू पनि छन्।

युनाइटेड स्टेट्स भर्जिन आइल्यान्डस्, नाउरु, ग्वाटेमाला, सेन्ट भिनसेन्ट एन्ड ग्रेनाडिन्स, सेन्ट पिअर एन्ड मिकेलनमा १-१ जना नेपाली गएको देखिन्छ। उनीहरू फर्किएको विवरण छैन।

त्यस्तै सेन्ट लुसा, एल साल्भाडोर, मोनको र वेस्टर्न सहारा मा १-१ जना गएर फर्किएको अध्यागमनको विवरणमा उल्लेख छ।

अघिल्ला वर्षहरूमा पनि नेपालीहरू २०० भन्दा धेरै देशहरूको भ्रमण गरेको देखिन्छ।

नेपाली नागरिकले सन् २०२४ मा २२१, सन् २०२३ मा २२७, सन् २०२२ मा २२३ र सन् २०२१ मा २१० वटा ‘देश’को यात्रा गरेको विभागको विवरणमा उल्लेख छ।

तथ्याङ्क
सन् २०२५ मा १७ लाख नेपाली विदेश गएको र १४ लाख ८८ हजार फर्किएको देखिन्छ। विभागका अनुसार सबैभन्दा धेरै ५० प्रतिशतजति नेपाली वैदेशिक रोजगारीको निम्ति गएका हुन्।

त्यसपछि पर्यटन/तीर्थयात्राको निम्ति साढे १३ प्रतिशत र अध्ययनको निम्ति झन्डै ८ प्रतिशत जाने गरेको देखिएको छ।

“पारिवारिक भेटघाट र व्यापार-व्यवसाय लगायतका अन्य विभिन्न प्रयोजनको निम्ति पनि विदेश जाने गर्नु भएको छ,” विभागका प्रवक्ता ढकालले भन्नुभयो।

सन् २०२५ मा सबैभन्दा धेरै झन्डै ३ लाख नेपाली संयुक्त अरब इमिरेटस् (युएई) गएको देखिन्छ।

त्यसपछि धेरै नेपाली गएका देशहरूमा कतार, साउदी अरेबिया, भारत, जापान, अस्ट्रेलिया, मलेसिया, ब्रिटेन, कुवेत, अमेरिका, चीन, थाइल्यान्ड, दक्षिण कोरिया, ओमान र हङ्कङ छन्।

कानुनी कि गैरकानुनी?

युवा, श्रम तथा रोजगार मन्त्रालयका अनुसार नेपालले १८७ वटा देशहरू रोजगारीको निम्ति व्यक्ति जान सक्नेगरी खुला गरेको छ।

वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा उक्त सङ्ख्यामा देशहरू खुला राखिएको बताइएको छ।

नेपालीहरू नेपाल सरकार र विदेशी देशको सरकारबीच भएको सम्झौता अनुसार, म्यानपावर कम्पनीबाट संस्थागत श्रम स्वीकृति अनुसार र आफूले व्यक्तिगत रूपमा रोजगारी खोजेर व्यक्ति रूपमा पनि वैदेशिक रोजगारीमा जान सक्ने व्यवस्था छ।

जानकारहरूका अनुसार व्यक्तिगत रूपमा गन्तव्य मुलुक र रोजगारी पहिचान गर्ने अर्को तरिका पनि छ।

अन्य भिसामा गएको व्यक्तिले काम खोजेर वर्किङ भिसामा परिणत गरेपछि त्यसलाई नेपाली दूतावासबाट कानुनी मान्यता लिने गर्छन्।

“त्यो पनि वर्क पर्मिट नै हो,” वैदेशिक रोजगार विभागकी महानिर्देशक मिरा आचार्य भन्नुहुन्छ । “त्यो सुविधा सन् २०२४ सेप्टेम्बर ३० तारिखसम्म गएकाहरूले मात्र पाउँछन्, त्यसपछि गएकाहरूले हकमा त्यसो गर्न पाउने कानुनी व्यवस्था छैन।”

तर विश्वका कुना कुनासम्म पुगेका नेपालीहरू विभिन्न मुलुकहरूमा कसरी के गरेर रोकिने गर्छन् भन्ने प्रश्न रुचिकर छ।

“नाम नसुनिएका देशहरूमा नेपालीहरू श्रम स्वीकृति लिएर जाने गरेको पाइँदैन, काम गर्दै गएपछि नेपाल आउँदा आफैँ रोजगारीको पत्र लिएर आउने र पुनः जाँदा श्रम स्वीकृति लिएर त्यस्ता देशहरूमा जाने गरेका हुन सक्छन्,” पूर्व श्रम सचिव विष्णु लम्साल भन्नुहुन्छ,”त्यस्तै नेपाल सरकारले रोजगारीका निम्ति खुला गरेका देशहरूमा गएर पछि अर्को देशमा जानेहरू पनि हुन सक्छन्।”

तथ्याङ्क

सरकारलाई जानकारी किन दिने?

उनको बुझाइमा सामाजिक सुरक्षा, बिमा लगायतका सुविधाका निम्ति पनि पछि श्रम स्वीकृति लिने प्रचलन बढेको हुनसक्छ।

वैदेशिक रोजगार विभागका अनुसार श्रम स्वीकृति लिँदाका लाभ धेरै छन्।

“पहिलो कुरा त नढाँटेर जाँदा फलानो व्यक्ति यो देशमा रोजगारीको निम्ति गएको भनेर अभिलेखमा रहने भयो,” विभागकी महानिर्देशक आचार्यको भनाइ छ, “कुनै अप्ठेरो पर्दा कल्याणकारी कोषबाट व्यवस्थापन गर्न सजिलो पनि हुन्छ।”

त्यसैगरी श्रम स्वीकृति लिएर जाने व्यक्ति सामाजिक सुरक्षा कोषमा आबद्ध हुन पुग्छ। जसले गर्दा उसको परिवारका सदस्यहरूको समेत बिरामी हुँदाको खर्च कोषको बिमाले समेट्छ।

“चोट पटक लाग्दा बिमा सुविधा हुन्छ। कामदारको मृत्यु भएमा शव नेपाल ल्याउनेदेखि दुई सन्तानसम्मलाई छात्रवृत्ति दिनेसम्मका सुविधा पाउँछन्,” महानिर्देशक आचार्य भन्नुहुन्छ , “उद्धार र कानुनी सहायतामा पनि सहयोग हुन्छ।”

उहाँका अनुसार म्यानपावर कम्पनीबाट गएर विभिन्न समस्यामा परेका २७१ जनालाई यस वर्ष उद्धार गरेर नेपाल ल्याइएको छ।

“त्यसैले विभिन्न सुविधा पाइने भएकाले श्रम स्वीकृति लिएर जानु आफ्नो र आफ्नो परिवारको हितमा हुन्छ,” उहाँले बताउनुभयो।

जानकारहरूका अनुसार विश्वका करिब डेढ सय देशमा जान नेपालीले पूर्व प्रवेशाज्ञा लिनु पर्छ। तीन दर्जन जति देशहरूले अनअराभइल भिसा दिने गर्छन् र १० भन्दा धेरै देशहरूले फ्री भिसा दिने गरेको जानकारहरू बताउँछन्।

Share Now