Prakash Adhikari August 10, 2026

काठमाडौँ, २५ साउन । नेपाल क्रिकेट संघले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको कप्तान फेरेको छ । क्यानले एक दिवसीय तर्फको कप्तानमा सन्दीप लामिछानेलाई चयन गरेको छ । यस अगाडि टिमको नेतृत्व गर्दै आएका रोहित पौडेललाई हटाइएको छ ।

क्यानले आज सामाजिक सञ्जालमार्फत सो कुराको जानकारी दिएको हो । यससंगै क्यानले आगामी अगष्ट ३०देखि सेप्टेम्बर १२ सम्म मलेसियामा आयोजना हुने एसीसी मेन्स प्रिमियर कपको लागि नेपाली स्क्वाडको पनि घोषणा गरेको छ ।

सन्दीप सन् २०२२ पछि पुनः नेपाली टोलीका कप्तान बनेका हुन् । उनले २०२२ को अगस्ट ३० मा पछिल्लो पटक नेपालका लागि कप्तानी गरेका थिए । केन्या भ्रमणमा केन्यासँग ५ ट्वान्टी–२० अन्तर्राष्ट्रियमा नेपालको कप्तानी गरेपछि उनी क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिज लागेका थिए ।

तर केन्याबाट वेस्ट इन्डिज नपुग्दै सन्दीपमाथि एक किशोरीले यौन दूराचारको आरोप लगाएपछि क्यानले उनलाई कप्तानीबाट हटाएको थियो ।

त्यसपछि रोहितले नेपालको कप्तानी गर्दै आएका थिए । फेब्रुअरीमा भारतमा भएको ट्वान्टी–२० विश्वकपपछि रोहितको स्थानमा दीपेन्द्रसिंह ऐरीलाई नेपालको ट्वान्टी–२० कप्तान बनाइएको थियो ।

दीपेन्द्र ट्वान्टी–२० को कप्तानमा यथावत् रहने छन् भने सन्दीपले एकदिवसीयमा नेपालको नेतृत्व गर्नेछन् । सन्दीप २०२२ मै यसअघि पहिलो पटक कप्तान बनेका थिए र उनको कप्तानीमा नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा १४ खेलमा ४ खेल मात्र जितेको थियो । नेपालमा त्यसमा ९ खेलमा पराजित भएको थियो भने एक खेल ‘टाई’ भएको थियो ।

रोहितले केन्या भ्रमणमै ५० ओभरको तीन खेलको शृंखलामा पहिलो पटक कप्तानी गरेका थिए, तर त्यो एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता थिएन । रोहित नेपालका सर्वाधिक सफल कप्तान हुन् । उनको नेतृत्वमा नेपालले ६३ खेलमा ३१ मा जित हात पारेको थियो भने ३० मा पराजय भोगेको थियो । दुई खेल रद्द भएका थिए ।

रोहितको कप्तानीमा नेपालले २०२३ मा क्रिकेट विश्वकप लिग २ को अन्तिम १२ मध्येको ११ खेलमा विजय हात पार्दै सोझै विश्वकप छनोटमा पुगेको थियो । यही क्रममा नेपालले घरेलु भूमिमा आयोजित एसिया कप छनोट प्रतियोगिता जितेको थियो र पहिलो पटक एसिया कप खेलेको थियो । रोहितको कप्तानीमा नेपालले एसिया कपमा पाकिस्तान र भारतसँग प्रतिस्पर्धा गरेको थियो ।

तर पछिल्लो समय नेपालले विशेषगरी एकदिवसीय संरचनामा निकै कमजोर प्रदर्शन गर्दै आएको छ । हालै मात्र नेदरल्यान्ड्स भ्रमणमा नेपाल लिग २ मा घरेलु टोली र नामिबियाविरुद्धको २–२ खेल सबैमा पराजित भयो ।

नेपालले लिग २ मा ४–० को ‘क्लिन स्विप’ हार बेहोरेको दोस्रो पटक थियो । दुवै हार विदेशी भूमिमा रहेको छ । यसअघि गत वर्ष यूएईमा पनि नेपालले यूएई र अमेरिकासँग लिग २ को सबै चार खेलमा पराजय बेहोरेको थियो ।

सन्दीप लामिछाने नेतृत्वको एसीसी टिममा आशिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी,सन्दीप जोरा, वशिर अहमद,इशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजवंशी,करण के.सी र हेमन्त धामी रहेका छन् ।

यता क्यानले अगष्ट २१ देखि अगष्ट ३० सम्म अष्ट्रेलियामा हुने टप इण्ड टी २० प्रतियोगिताका लागि अनिल शाहको कप्तानीमा अर्को टिमको पनि घोषणा गरेको छ । जसमा त्रितराज दास, मायान यादव, कुशल भूर्तेल, पवन सर्राफ, दीपक डुम्रे,कुशल मल्ल,लोकेश बम, रसिद खान, नारायण जोशी,आकाश चन्द, शाहब आलम,विपिन खत्री, युवराज खत्री र रिजन ढकाल रहेका छन् ।

Share Now