काठमाडौं, २६ साउन । साउन महिनाको उत्तरार्धतिर आइपुग्दा नेपालको शेयर बजारको ओरालो लय रोकिएको छ । आज साताको दोस्रो कारोबार दिन धितोपत्र बजार परिसूचक सकारात्मक भएर बन्द भएको छ। पछिल्लो तीन कारोबार दिनदेखि घटिरहेको बजार परिसूचक, यस दिन भने सामान्य अंक बढेर बन्द भएको हो।
मंगलबार धितोपत्र बजार परिसूचक ०.७९ अंक बढेर २६४१.८५ विन्दुमा पुगेको छ।
यस दिन कारोबार रकम पनि बढेको छ। सोमबार ३ अर्ब ६७ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३ सय ४० स्टकको ९५ लाख ३४ हजार कित्ता शेयरको खरिदबिक्रीबाट ४ अर्ब ११ करोड ९ लाख ७४ हजार रुपैयाँबराबरको कारोबार भएको छ।
यस दिन अप्पर लोहरे खोला हाइड्रोपावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ५६ रुपैयाँ ९० पैसा बढेर ४ सय ३६ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ। यस दिन अधिक शेयर मूल्य बढेका कम्पनीहरुमा लक्ष्मी उन्नति कोष, हिमस्टार,अपर हेवा,सिद्धार्थ ईक्विटी फण्ड, बराही हाइड्रो,चिर्ख्वा हाइड्रो, ड.ादी ग्रुप पावर र स्टाण्डर्ड चार्टर बैंक डिबेञ्चर रहेका छन् ।
झिनो अंकले बढेको बजारमा शेयर मूल्य अधिक घट्ने कम्पनीहरुमा महिला लघुवित्त, प्राइम बैंक डिबेञ्चर, सप्तकोशी विकास बैंक, गणपति माइक्रो फाइनान्स, एभरेष्ट कलर ल्याब, नेपाल लाइफ सम्बृद्धि योजना, हिमालयन ८०२०, एभरेष्ट बैंक डिबेञ्चर, हिमालयन लाईफ लार्ज क्याप फण्ड, सालपा बिकास बैंक रहेका छन् ।
कारोबार रकमका आधारमा यस दिन पनि सोलु हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४४ करोड ८७ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन रिडी पावर कम्पनीको कारोबार रकम साढे ३३ करोड रुपैयाँ नाघेको छ भने ङादी ग्रुप पावरको करिब १८ करोड रुपैयाँको शेयर कारोबार भएको छ। यस दिन कारोबार रकममा शीर्ष १० भित्र रहेका अन्य कम्पनीहरुमा खानीखोला हाइड्रो १३ करोड ७७ लाख, अपर हेवा १० करोड ५२ लाख, आँखु खोला जलविद्युत १० करोड ४० लाख, रिलायन्स स्पिनिड. मिल ८ करोड २९ लाख,अपि पावर ७ करोड ९७ लाख र माउण्टेन इनर्जी ६ करोड ९२ लाख रहेका छन् ।
१३ उपसमूहमध्ये यस दिन छ उपसमूहको परिसूचक बढेको छ भने सात उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा र अन्य उपसमूहको परिसूचक सामान्य अंक बढेको हो।








