Prakash Adhikari August 12, 2026
काठमाडौँ, २७ साउनः नेपालको शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा भारत सरकारले रु ८० करोड ३० लाख बराबरको सहयोग उपलब्ध गराउने भएको छ ।
परियोजना सञ्चालनसम्बन्धी समझदारीपत्रमा नेपाल सरकारका सम्बन्धित निकाय र नेपालस्थित भारतीय राजदूतावासका अधिकारीले मङ्गलबार हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार कोशी प्रदेशको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ‘डिजिटलाइजेसन’, भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ मा कृषि उत्पादन सङ्कलन तथा बिक्री केन्द्र निर्माण हुनेछ ।
यस्तै, मोरङको बेलबारी नगरपालिका–३ मा बेलबारी बहुमुखी क्याम्पसको भवन निर्माण र सुनसरीको बर्जु गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण गरिनेछ । त्यस्तै, बागमती प्रदेशको धादिङको ज्वालामुखी गाउँपालिका–६ मा नगदे कृषि तथा पशुपन्छी केन्द्र भवन, कर्णाली प्रदेशको दैलेखको डुङ्गेश्वर गाउँपालिका–५ मा १० शय्याको अस्पताल निर्माण हुनेछ ।
त्यस्तै, हुम्लाको सर्केगाड गाउँपालिका–४ मा कृषि प्रवद्र्धन केन्द्र र गण्डकी प्रदेशको स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ मा कोल्ड स्टोर निर्माण गरिनेछ । यी परियोजना नेपाल सरकारका स्थानीय निकाय तथा संस्थामार्फत कार्यान्वयन गरिने छ ।
Share Now